गत साता सबभन्दा धेरै सेयर भाउ बढ्नेमा होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो, रिड्ज इनर्जी र पाल्पा सिमेन्ट छन्।
यी कम्पनीको सेयर मूल्य ४६ प्रतिशतसम्म मूल्य बढेको छ। होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो हामीले सोमबार चर्चा गरिसकेका छौं।
अब कुरा गरौं, रिड्ज इनर्जी र पाल्पा सिमेन्टको।
रिड्ज इनर्जीको सेयर भाउ गत साता ४६ प्रतिशतले बढेर प्रतिकित्ता ८५५ रूपैयाँबाट १२५२ रूपैयाँ पुगेको छ। मंगलबार पनि बढेर १४०० रूपैयाँ पुग्यो।
मंगलबार यसको सेयर भाउ १५९२ रूपैयाँसम्म पुगेपछि उच्च वृद्धिमा रोक लागेको छ। यसले लगानीकर्ताहरू अहिलेको मूल्यमा आएपछि थप मूल्य तिर्न हिचकिचाइरहेको संकेत गरिरहेको छ।
२०८२ चैत ११ गतेबाट कारोबारमा आएको रिड्ज इनर्जीको सेयर त्यसयता हरेक दिन बढेरै कारोबार भइरहेको छ।
पछिल्लो समय आइपिओ जारी गरेका कम्पनीहरूको मूल्य लगातार बढ्ने प्रवृत्ति देखिँदै आएको छ। यही प्रवृत्ति रिड्ज इनर्जीको सेयरमा पनि देखिएको हो।
रिड्जको पहिलो कारोबार तीन सय रूपैयाँबाट भएको थियो। यसका मुख्य लगानीकर्तामा रेवन्त कुमार रावत, ओपेन्द्र हमाल र प्रकाश तिवारी लगायत छन्।
रिड्जले गोरखा र लमजुङ जिल्ला भएर बग्ने चोपे खोलबाट ९.०५ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ। यस सुपर चोपे जलविद्युत आयोजनाले २०८० माघबाट विद्युत उत्पादन गर्दै आएको छ। यसको प्रतिमेगावाट लागत २३ करोड रूपैयाँ हाराहारी छ।
पछिल्ला वर्षहरूमा धेरैजसो हाइड्रोको प्रतिमेगावाट यस्तो लागत सरदर २० करोड रूपैयाँ हाराहारी छ। आयोजनाले लगानी बराबरको आम्दानी फिर्ता गर्न सक्ने अवधि सात वर्ष छ।
२६ करोड रूपैयाँ बराबरको आइपिओ जारी गरेको यसले प्राप्त रकममध्ये केही रकम ऋण तिर्न र केही लगानी गर्ने उद्देश्य राखेको छ। १५ करोड रूपैयाँ बराबरको रकम काङ हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो मैवाखोला जलविद्युतमा लगानी गर्ने भएको छ।
त्यस्तै, बाँकी ११ करोड ७ लाख रूपैयाँ बराबर बैंक ऋण तिर्ने भएको हो।
नयाँ कम्पनी भएकाले रिड्जले पछिल्ला वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन। यसले प्रकाशन गरेको आह्वान पत्रमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार सो आर्थिक वर्षमा सात करोड ३२ लाख रूपैयाँ नाफामा छ।
यसले विद्युत बिक्रीबाट २९ करोड रूपैयाँ बराबर आम्दानी गरेको थियो। यसको प्रतिसेयर आम्दानी सात रूपैयाँ ९२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३१ रूपैयाँ ३६ पैसा छ।
कुल एक करोड १८ लाख सेयर रहेको यसको २६ लाख कित्ता सेयर मात्रै सर्वसाधारणमा छ। लक इन पिरियडका कारण तीन वर्षसम्म सञ्चालक र स्थानीय बासिन्दाले सेयर बिक्री गर्न नपाउने भएकाले बजारमा यसको सेयर आपूर्ति कम छ।
त्यस्तै, पाल्पा सिमेन्टको सेयर मूल्य गत साता ४६ प्रतिशतले बढेर प्रतिकित्ता १५३ रूपैयाँबाट ४८३ रूपैयाँ पुगेको छ। मंगलबार पनि वृद्धि भएर ६३८ रूपैयाँ पुगेको छ।
गत शुक्रबारबाट कारोबारमा आएको पाल्पा सिमेन्टको सेयर मूल्य लगातार बढिरहेको छ।
पाल्पा सिमेन्टमा रजेश कुमार अग्रवाल, विष्णुकुमार अग्रवाल र स्विटी कुमारी अग्रवाल लगायतको लगानी छ।
उद्योगले दैनिक १८०० मेट्रिक टन क्लिंकर, २२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ।
पाल्पाले आइपिओबाट उठेको रकम पाँच बैंकबाट लिएको ७५ करोड रूपैयाँ चालु पुँजी कर्जा तिर्न प्रयोग गर्ने उल्लेख गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा दुई करोड ६३ लाख रूपैयाँ नाफामा छ। यसले उत्पादन बिक्रीबाट एक अर्ब ८९ करोड आम्दानी गरेको छ। यसको बिक्री लागत एक अर्ब ५० करोड रूपैयाँ छ।
यसको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी एक रूपैयाँ ७६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३६ रूपैयाँ छ।
कुल तीन करोड ७५ लाख कित्ता सेयर रहेको यसको सर्वसाधारणमा ७५ लाख कित्ता सर्वसाधारणमा छ।
