काठमाडौँ, वैशाख १५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
मौसमविद् सरोज पुडासैनीकाअनुसार भोलि मङ्गलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको छ ।
उहाँले भन्नुभयो, “मङ्गलबारकै दिन कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित भारी पानी पर्ने सम्भावना छ ।”
यसैगरी, पर्सी बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना छ ।
कोशी र मधेश प्रदेशको एक, दुई ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।
