वैशाख १७ गते
युरोपको सानो तर रणनीतिक रूपमा महत्वपूर्ण देश माल्टामा बसेर नेपाली पत्रकारिताको धरोहरलाई निरन्तर अघि बढाउँदै आएका पत्रकार धनराज विक (अविरल) अब गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको सञ्चार नेतृत्वमा औपचारिक रूपमा जोडिएका छन्। माल्टा नेपाल अनलाइनका सम्पादक समेत रहेका अविरललाई एनआरएनए माल्टाको पहिलो बैठकले प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गरेको हो। सन् २०२६-२०२७ कार्यकालका लागि उनलाई सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ।

एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरीका अनुसार, अविरलको दीर्घ पत्रकारिता अनुभव, तथ्यमा आधारित विश्लेषण गर्ने क्षमता, तथा प्रवासी नेपाली समुदायसँगको गहिरो सम्बन्धलाई उच्च मूल्यांकन गर्दै उनलाई उक्त जिम्मेवारी दिइएको हो। “विदेशमा रहेर पनि पत्रकारिताको मूल्यमान्यतालाई नछोडी सक्रिय रूपमा काम गरिरहनु भएको छ। उहाँको अनुभवले संस्थाको सञ्चार प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनेमा हामी विश्वस्त छौँ,” गिरीले बताए।

पत्रकार अविरल विगत लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन्। नेपालमा रहँदा विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममार्फत पत्रकारिता गरेका उनले पछिल्ला वर्षहरूमा युरोपस्थित माल्टाबाट नेपाली समुदायका आवाज, समस्या, उपलब्धि र संघर्षका कथाहरूलाई निरन्तर उजागर गर्दै आएका छन्। उनले सम्पादन गर्दै आएको ‘माल्टा नेपाल अनलाइन’ प्रवासमा रहेका नेपालीहरूको आवाज बोल्ने सशक्त माध्यमको रूपमा स्थापित हुँदै गएको छ।

प्रवासमा रहेका नेपालीहरूको दैनिकी, श्रम, पीडा, संघर्ष र सफलताका कथा प्रस्तुत गर्नु अविरलको पत्रकारिताको प्रमुख विशेषता रहँदै आएको छ। उनले विशेष गरी आप्रवासी नेपालीहरूका मुद्दा-जस्तै श्रम अधिकार, सामाजिक सुरक्षा, सांस्कृतिक पहिचान, र समुदायभित्रका चुनौतीहरू-लाई आफ्नो लेखनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएका छन्। यही निरन्तर सक्रियता र समर्पणका कारण उनले प्रवासमै बसेर पनि विश्वसनीय पत्रकारको पहिचान बनाएका छन्।
एनआरएनए माल्टाले उनलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिनु केवल पद नियुक्ति मात्र नभई संस्थागत सञ्चार प्रणालीलाई अझ व्यावसायिक, पारदर्शी र प्रभावकारी बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। अध्यक्ष गिरीका अनुसार, “उहाँको विश्लेषण क्षमता र सञ्चारमा देखिएको निष्ठाले संस्थाका गतिविधिहरूलाई सही ढंगले जनसमक्ष पुर्याउन ठूलो योगदान दिनेछ।”
नयाँ जिम्मेवारी पाएपछि पत्रकार अविरलले आफूलाई दिइएको विश्वासप्रति आभार व्यक्त गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको मार्गबाट विचलित नहुने प्रतिबद्धता जनाएका छन्। “पत्रकारिता मेरो पेशा मात्र होइन, जिम्मेवारी पनि हो। जहाँ रहे पनि सत्य सूचना प्रवाह र समुदायको आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिनेछु,” उनले भने। साथै, उनले प्रवासी नेपालीहरूबीच एकता, सहकार्य र सकारात्मक सोचको विकासमा सञ्चारमार्फत भूमिका खेल्ने लक्ष्य लिएका छन्।
सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष तथा एनआरएनए माल्टाका कार्यसमिति सदस्य दिनेश नागरीले पनि अविरलको नियुक्तिलाई सकारात्मक रूपमा लिँदै उनको पत्रकारिताको खुलेर प्रशंसा गरेका छन्। “उहाँको लेखनशैली, तथ्यमा आधारित प्रस्तुति र खोजमूलक पत्रकारिताले पाठकको विश्वास जितेको छ। स्वतन्त्र पत्रकारको रूपमा उहाँले स्थापित गरेको पहिचान नै उहाँको सबैभन्दा ठूलो शक्ति हो,” नागरीले बताए।
पत्रकार अविरल अन्याय, अत्याचार, शोषण, विभेद, भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध निडर रूपमा कलम चलाउने पत्रकारका रूपमा परिचित छन्। उनले सामाजिक न्याय, समावेशिता र परिवर्तनका पक्षमा आफ्नो लेखनलाई केन्द्रित गर्दै आएका छन्। नेपालदेखि युरोपसम्म उनले प्राप्त गरेका विभिन्न सम्मानहरूले उनको पेशागत क्षमता र समर्पणलाई झल्काउँछ।
पत्रकारिताका अतिरिक्त उनी विभिन्न सामाजिक तथा संस्थागत भूमिकामा पनि सक्रिय छन्। अनुमोदन राष्ट्रिय दैनिक, अनुमोदन खबर अनलाइनका युरोप संवाददाता, कैलाली पोस्ट, लम्की खबर, वैज्ञानिक मिडिया लगायतका सञ्चारमाध्यममा आबद्ध रहँदै आएका अविरल क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव, नेपाल पत्रकार महासंघ कैलाली सदस्य तथा पत्रकार महासंघ युरोपका कार्यसमिति सदस्य समेत रहेका छन्।

त्यस्तै, उनी अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाका वरिष्ठ सल्लाहकार तथा सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता समेत हुन्। पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शजस्ता विविध क्षेत्रमा उनले योगदान दिँदै आएका छन्।
२०६१ सालदेखि पत्रकारितामा सक्रिय अविरलले परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा काम गर्दै आफ्नो पेशागत यात्रा अघि बढाएका थिए। समयसँगै उनले आफ्नो दायरा विस्तार गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति जनाएका छन्। २०८० साल कार्तिक २४ गते माल्टा पुगेपछि पनि उनले पत्रकारितालाई निरन्तरता दिँदै प्रवासमै बसेर नेपाली समुदायका आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन्।
प्रवासमा रहेर पनि आफ्नो पहिचान, पेशागत निष्ठा र सामाजिक जिम्मेवारीलाई निरन्तरता दिने पत्रकार धनराज अविरलको यो नयाँ भूमिका केवल व्यक्तिगत उपलब्धि मात्र होइन, समग्र प्रवासी नेपाली समुदायका लागि पनि गर्वको विषय बनेको छ। अब उनको नेतृत्वमा एनआरएनए माल्टाको सञ्चार प्रणाली अझ सुदृढ, प्रभावकारी र विश्वासिलो बन्ने अपेक्षा गरिएको छ।
