बाँके, १८ बैशाख । देशभर सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियान तीव्र बन्दै जाँदा नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध निर्णायक कदम अघि बढाएको छ। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अतिक्रमण गरेर बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई ७ दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न स्पष्ट निर्देशन दिएका छन्।
समयसीमा भित्र अटेर गरेमा गाउँपालिकाले डोजर प्रयोग गरेर संरचना हटाउने चेतावनी दिएको छ। अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त रूपमा अतिक्रमण हटाइने तयारी गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार ‘सरकारको एक सय कार्यसूची’ अनुरूप अतिक्रमण नियन्त्रण, संरक्षण तथा नयाँ अतिक्रमण रोक्न कडाइ गर्दै अभियान सञ्चालन गरिएको हो।
स्थानीय तहको यस पहलले सार्वजनिक सम्पत्ति संरक्षणमा स्पष्ट सन्देश दिएको छ। स्थानीयवासीले यस अभियानबाट दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास, सहज आवागमन र पूर्वाधार विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरेका छन्।

