वैशाख २३
रूपन्देही प्रहरीले भैरहवा स्थीत रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर १९ जना नेपाली युवालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मंगलबार साँझ आकस्मिक छापा मार्ने क्रममा क्यासिनो भित्र जुवा खेलिरहेका १९ जना नेपाली युवालाई पक्राउ गरेको जनाएको छ। यस अघि पनि प्रहरीले सिएमजी क्यासिनोमा छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको थियो।
भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा (भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको) सञ्चालित रोयल कालिङ्गा क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको हो। केही महिना अघि संचालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको बताए।
पक्राउ परेकाहरूका साथबाट ९५ हजार ५ सय नेपाली रूपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको छ।
पक्राउ पर्नेहरूमा जुवा खेलाउने कार्यमा संलग्न रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीका २२ वर्षीय अभय कुमार गुप्ता, वडा नं.२ का २६ वर्षीय सुशान्त अधिकारी, ओमसतिया गाउँपालिका. वडा नं. २ का २९ वर्षीय निक्षेद नेपाल र सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का २८ वर्षीय संजय शाक्य छन्।
त्यस्तै जुवा खेल्नेहरूमा काठमाडौं चन्द्रागिरीका ५० वर्षीय जिवन थापा, रूपन्देही देवदह- ५ का ३२ वर्षीय आकाश गुप्ता, ३३ वर्षीय सुनारी मगर, कोटहीमाई- ३ का २९ वर्षीय अब्दुल कलाम जोलहा, सिद्धार्थनगर- ९ का ५८ वर्षीय अभिषेक शर्मा, तिलोत्तमा- १५ बस्ने ४४ वर्षीय शिव पाण्डे, सैनामैना- ४ का ३४ वर्षीय रोहन विक भन्ने तिल बहादुर विक, मायादेवी- ५ का २८ वर्षीय निरज गुप्ता, २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, तिलोत्तमा- ६ का ३८ वर्षीय निर्मल बस्याल, सैनामैना- ४ का ३० वर्षीय भरत थापा, गुल्मी रेसुङ्गा- ६ का ४२ वर्षीय नेत्र पोख्रेल, पर्साको विरगंज- ७ का ४४ वर्षीय जंग कुमार अग्रवाल र ललितपुर- ५ का ५० वर्षीय बाबुराजा महर्जन रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार सेतोपाटी

