९ जेठ
न्युयोर्क, जेठ ९ गते । विश्वकप फुटबल प्रतियोगिता–२०२६ को समूह ‘बी’ मा सहआयोजक क्यानडा पनि छ । क्यानडाले तिनै खेल गृह मैदानमा खेल्ने मौका पाएको छ । त्यसैले क्यानडाले खेल्दा रङ्गशाला रातो जर्सी लगाएका समर्थकले भरिने छ । जसले क्यानडालाई थप ऊर्जा प्रदान गर्ने छ । यद्यपि क्यानडासमक्ष पहिलो पटक दोस्रो चरणमा पुगेर घरेलु समर्थकलाई खुसी पार्ने ठुलो दबाब पनि रहने छ । सो समूहमा स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जगोभिना पनि रहेका छन् । यस समूहमा स्विट्जरल्यान्ड सबभन्दा बलियो देखिन्छ । यसै गरी कतारले पछिल्लो विश्वकपको आयोजना गरेको थियो भने बोस्निया हर्जगोभिना चार पटकको विजेता इटालीलाई प्लेअफमा स्तब्ध बनाएर विश्वकपमा पुगेको टिम हो ।
क्यानडा
विशेषत : हकी राष्ट्रका रूपमा चिनिने क्यानडाले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर विश्व फुटबलमा पनि छाप छोड्ने आशा गरेको छ । घरेलु मैदानमा खेल्ने भएकाले पनि क्यानडा यस पटक फुटबलको महाकुम्भमा विशेष गर्न चाहन्छ । यसअघि क्यानडाले दुई पटक सन् १९८६ मा मेक्सिको र सन् २०२२ मा कतारमा विश्वकप खेलेको थियो तर यी दुवै संस्करणमा क्यानडाको चुनौती समूह चरणमै सकियो । क्यानडाका अमेरिकी प्रशिक्षक जेसे मार्सले आव्रmामक, उच्च मनोबलमा र सशक्त भएकाले यसपालि विश्वकपमा आफ्नो टिमले सबैलाई प्रभाावित पार्ने बताउनुभएको छ । उहाँ अनुसार यस विश्वकपमा क्यानडाले खेल्ने फुटबल शैलीले सबैलाई मोहित पार्ने छ । बायर्न म्युनिखबाट खेल्ने स्ट्राइकर अलफोन्सो डेभिज क्यानडाका सुपरस्टार खेलाडी हुनुहुन्छ । चार वर्षअघि व्रmोएसियाविरुद्ध गोल गरेर अलफोन्सो क्यानडाका लागि विश्वकपमा पहिलो गोल गर्ने खेलाडी पनि बन्नुभएको थियो । यसै गरी युभेन्ट्सका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्पटनका सिली लारिन पनि टिमका हेर्नलायक खेलाडी हुनुहुन्छ । विश्व वरीयतामा ३० औँ स्थानमा रहेको क्यानडाले पहिलो खेल टोरोन्टोमा बोस्निया हर्जगोभिनाविरुद्ध खेल्ने छ ।
स्विट्जरल्यान्ड
यस समूहमा स्विट्जरल्यान्ड सबभन्दा बलियो टिम हो । विश्व वरीयतामा १९ औँ स्थानमा रहेको स्विट्जरल्यान्डले लगातार पछिल्ला पाँच विश्वकप खेलेको छ । जसमध्ये पछिल्ला तीन विश्वकपमा स्विट्जरल्यान्डले नकआउटमा स्थान बनाएको थियो तर तिनै पटक स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलभन्दा अगाडिको यात्रा गर्न सकेन । हुन त स्विट्जरल्यान्डले तीन पटक विश्वकपको क्वाटरफाइनल खेलेको छ तर उसले हासिल गरेका ती गौरव १९५४ अघिका हुन् । प्रिमियर लिग क्लब सन्डरल्यान्डबाट खेल्ने स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकासँग १४० भन्दा बढी अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।
स्विट्जरल्यान्डका प्रशिक्षक पनि टिमकै पूर्वखेलाडी मुरात याकिन हुनुहुन्छ । उहाँले स्विट्जरल्यान्डका लागि ४९ खेल खेल्नुभएको छ । विश्वकप छनोट प्रतियोगितामा अपराजित यात्रामा स्विट्जरल्यान्डले मात्र दुई गोल बेहोरेको थियो । स्विट्जरल्यान्डको सबभन्दा सशक्त पक्ष डिफेन्स हो तर विश्वकपअघिका मैत्री खेलमा भने स्विट्जरल्यान्डको प्रदर्शन कमजोर देखियो । जर्मनीसँग ४–३ ले हारेपछि स्विट्जरल्यान्ड नर्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
कतार
सन् २०२२ मा विश्वकपको सफल आयोजना गरेपछि कतार दोस्रो पटक विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगितामा खेल्दै छ । पछिल्लो पटक घरेलु मैदानमा कतार समूह चरणबाट बिदा भएको थियो । त्यसबेला कतारले तीन खेलमा एक गोल मात्र गर्न सक्यो । फिफा वरीयतामा ५६ औँ स्थानमा रहेको कतारी टिम स्पेनी प्रशिक्षक युलेन लोपेटेगुइको रेखदेखमा रहेको छ । उहाँ स्पेन र रियल म्याड्रिड जस्ता टिमलाई प्रशिक्षण दिइसकेका अनुभवी प्रशिक्षक हुनुहुन्छ । कतार लामो समयदेखि घरेलु लिग र राष्ट्रिय टिमलाई विश्वस्तरीय बनाउने प्रयासमा छ । पछिल्लो समयमा कतारले फुटबल विकासमा ठुलो लगानी गरेको छ । यस टिमका सबै जसो खेलाडी कतारमा व्यावसायिक फुटबल खेल्छन् ।
विश्वकपकै लागि कप्तान हसन अल हेडोसले सन्न्यास फिर्ता लिनुभएको छ । उहाँले कतारका लागि ४१ गोल गर्नुभएको छ । यसै गरी कतारका अर्का प्रमुख स्ट्राइकर अल्मोएज अलीले पनि ५५ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ ।
बोस्निया हर्जगोभिना
चार पटकको विजेता इटाली विश्वकप फुटबल–२०२६ मा चयन हुन असफल भयो । यसको प्रमुख जिम्मेवार बोस्निया हर्जगोभिना हो । बोस्निया हर्जगोभिनासँग प्लेअफमा पेनाल्टी सुटआउटमा ४–१ ले पराजित भएपछि इटालीको विश्वकपमा खेल्ने सपना चकनाचुर भएको हो । फिफा वरीयतामा ६६ औँ स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दै छ । यसअघि सन् २०१४ मा बोस्निया हर्जगोभिनाले विश्वकपमा खेलेको थियो । सो समय बोस्निया हर्जगोभिना समूह चरणबाट बिदा भएको थियो तर त्यसबेला पनि बोस्नियाले अर्जेन्टिनालाई हराएर सनसनी फैलाएको थियो । यस टिममा सामेल स्ट्राइकर इडिन जेकोलाई बोस्नियाकै सर्वकालीन महान् स्ट्राइकर मानिएको छ । यद्यपि उहाँ अहिले घाइते हुनुहुन्छ । इटालीलाई हराएको खेलमा उहाँले चोट बोक्नुभएको थियो । जर्मनीको साल्के ०४ बाट व्यावसायिक फुटबल खेल्ने जेकोले १४८ खेलमा ७३ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । बोस्नियाका प्रशिक्षक सजगेज बारबारेज यस राष्ट्रको कप्तान भइसकेका व्यक्ति हुनुहुन्छ । एपी
