काभामा नेपालको पहिलो जित

काठमाडौँ, जेठ १० गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप नेपालले पहिलो जित दर्ता गर्दै सेमिफाइनलनजिक पुगेको छ । समूह ‘ए’ को खेलमा नेपालले शनिबार कीर्गिस्तानलाई सोझो सेटमा जित हासिल गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको खेलमा घरेलु टिमले २५–१८, २५–२०, २५–१३ ले कीर्गिस्तानलाई पराजित गरेको हो । पहिलो सेटदेखि नै दबाब बनाएको नेपालका लागि सुमित्रा रेग्मी स्पाइक र ब्लक तारिफ योग्य थियो ।

तीनै सेटमा सानदार प्रदर्शन गर्ने सुमित्रा प्लेयर अफ दी म्याच पनि घोषित हुनुभयो । नेपाल दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । जसले नेपालको सेमिफाइनल सम्भावना बलियो भयो । नेपालले पहिलो खेलमा भारतसँग ३–२ ले पराजित हुँदा एक अङ्क जोडेको थियो । कीर्गिस्तानको यो पहिलो हार हो ।

पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराएको कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क छ । अब नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्ने छ । नेपालले माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल पुग्ने छ । कीर्गिस्तानले सोमबार भारतको सामना गर्ने छ ।

शनिबारमा नै भारतले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ को अर्को खेलमा भारतले माल्दिभ्सलाई २५–९, २५–१४, २५–१७ ले पराजित गरेको हो । पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई ३–२ ले पराजित गरेको थियो । माल्दिभ्सको यो लगातार दोस्रो हार हो ।

भारत दुई जितपछि पाँच अङ्क जोडेर शीर्ष स्थानमा उक्लेको छ । भारतले समूहको अन्तिम खेल सोमबार कीर्गिस्तानसँग खेल्ने छ । यसै गरी समूह ‘ए’ मा कजाकिस्तानले श्रीलङ्कालाई २५–९, २५–१८ र २५–१५ को सोझो सेटमा हराएर विजयी सुरुवात गरेको छ ।

नेपालकी कप्तान निरुत्ता ठगुन्नाले सेमिफाइनलमा पुग्न जित्नै पर्ने भएकोेले यस जितले आफू मात्र होइन टिमलाई नै राहत र खुसी दिलाएको बताउनुभयो । ‘‘यो खेल जित्नै पर्ने थियो, सोही लक्ष्यका साथ कोर्टमा उत्रेका थियौँ’’, उहाँले भन्नुभयो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अन्तर्गत नेपाल भलिबल सङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिपमा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता छ । यो च्याम्पियनसिपको विजेता महिला एसिया कपमा छनोट हुने नेपाल भलिबल सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply