स्वच्छ चुलोले बदलिँदै गाउँको भान्छा: स्वास्थ्य, समय व्यवस्थापन र वातावरणमा सकारात्मक प्रभाव

कञ्चनपुर, जेठ १० – हेमा भट्ट
एसएनभी नेपालले कृष्णपुर नगरपालिका वडा नम्बर २ र ४ मा सञ्चालन गर्दै आएको घरभित्रको धुवाँमुक्त कार्यक्रमअन्तर्गत वडा नम्बर ५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा स्वच्छ चुलो सम्बन्धी समुदाय स्तरको व्यवहार परिवर्तन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

“धुवाँमुक्त गाउँ अभियान” ले ग्रामीण भान्छाको परम्परागत स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याउँदै आएको छ। दाउरा र गोबर गुइँठाको अत्यधिक प्रयोगबाट उत्पन्न हुने धुवाँले भरिने भान्छाबाट स्वच्छ चुलोतर्फको रूपान्तरणले स्थानीय बासिन्दाको स्वास्थ्य, समय व्यवस्थापन तथा वातावरणीय चेतनामा सकारात्मक प्रभाव पारिरहेको छ।

वर्षौँदेखि ग्रामीण महिलाहरूले भोग्दै आएको दाउरा संकलनको कठिनाइ, भान्छामा हुने अत्यधिक धुवाँका कारण आँखा पोल्ने समस्या तथा श्वासप्रश्वाससम्बन्धी जोखिमहरू क्रमशः घट्दै गएको स्थानीयहरूको अनुभव छ। विशेषगरी महिला र बालबालिका यस अभियानबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कृष्णपुर नगरपालिका, हरियाली सामुदायिक वन उपभोक्ता समूह र एसएनभी नेपालको सहकार्यमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत विपन्न तथा जोखिममा रहेका परिवारलाई प्राथमिकतामा राखेर स्वच्छ चुलो वितरण गरिँदै आएको छ। नगरपालिकाले “रातो कार्ड” प्रणालीमार्फत सहुलियत प्रदान गरिरहेको छ भने एसएनभी नेपालले प्राविधिक परीक्षण, सचेतना तथा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ।

अभियानका क्रममा स्थानीय समुदायमा नियमित घरदैलो अनुगमन, समूह छलफल तथा स्वच्छ ऊर्जा सम्बन्धी जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। यसले केवल प्रविधि परिवर्तन मात्र नभई व्यवहार परिवर्तनतर्फ पनि समुदायलाई उन्मुख गराएको देखिन्छ।
स्थानीय महिलाहरूका अनुसार स्वच्छ चुलो प्रयोगपछि खाना पकाउने समय उल्लेखनीय रूपमा घटेको, भान्छा सफा र व्यवस्थित भएको तथा बालबालिकालाई धुवाँरहित वातावरणमा राख्न सहज भएको छ। साथै दाउराको प्रयोगमा कमी आएपछि वन विनाश घट्ने र हरियाली संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एक स्थानीय महिलाले भनिन्, “पहिले दाउरा खोज्नै धेरै समय जान्थ्यो, भान्छामा धुवाँले बस्नै सकिँदैनथ्यो। अहिले धेरै सहज भएको छ, स्वास्थ्यमा पनि सुधार आएको छ।”

नगरपालिकाका प्रतिनिधिहरूका अनुसार यो अभियानलाई दीर्घकालीन रूपमा विस्तार गर्दै सबै वडामा स्वच्छ चुलो र धुवाँमुक्त भान्छा कार्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय उपभोक्ता समूहहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै कार्यक्रमको प्रभावकारिता बढाउने योजना रहेको छ।

विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा स्वच्छ चुलोको प्रयोगले दीर्घकालीन रूपमा श्वासप्रश्वाससम्बन्धी रोग, आँखासम्बन्धी समस्या तथा घरभित्रको प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्छ। साथै यसले कार्बन उत्सर्जन घटाउँदै जलवायु परिवर्तन न्यूनीकरणमा समेत योगदान पुर्‍याउने बताइन्छ।

“स्वस्थ जीवन, सफा आकाश, धुवाँमुक्त गाउँ हाम्रो प्रयास” भन्ने नारासहित अघि बढिरहेको यो अभियानलाई स्थानीय तहमा दिगो विकास र वातावरण संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अभियान सफल बन्दै गएसँगै अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको र स्थानीय सहभागिता बढ्दै गएपछि कार्यक्रम अझ प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

स्वच्छ ऊर्जा प्रविधिको पहुँचसँगै गाउँका भान्छा मात्र होइन, समुदायको सोच, व्यवहार र जीवनशैली पनि दिगो र हरियाली भविष्यतर्फ अग्रसर हुँदै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply