खेमराज भट्ट,जेठ १०
माेरङ -समाजमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण गर्दै युवापुस्तालाई सुरक्षित, सभ्य र सिर्जनशील मार्गतर्फ उन्मुख गराउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय मोरङले “लागूऔषध विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics – Mega CAN) २०८३” को औपचारिक शुभारम्भ गरेको छ।
शनिबार विराटनगरमा आयोजित विशेष कार्यक्रममार्फत सुरु गरिएको अभियानले लागूऔषध नियन्त्रणलाई केवल प्रहरी कारबाहीमा सीमित नराखी समाजव्यापी जनचेतना, अभिभावकीय जिम्मेवारी, शैक्षिक सचेतना र सामुदायिक सहभागितासँग जोड्ने प्रयास गरेको छ। अभियानले विशेषगरी युवाहरूलाई कुलत, अपराध र सामाजिक विघटनबाट जोगाउँदै सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

अभियानअन्तर्गत बिहान विराटनगरको महेन्द्र चोकबाट भव्य प्रभातफेरी निकालिएको थियो। प्रतिनिधि सभाकी माननीय सांसद आशा झाले रिबन काटेर प्रभातफेरीको उद्घाटन गर्नुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, संघ–संस्था, सञ्चारकर्मी, नेपाल स्काउट, विद्यार्थी, सामाजिक अभियन्ता तथा युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
“लागूऔषधमुक्त समाज निर्माण गरौँ”, “युवालाई बचाऔँ, भविष्य जोगाऔँ” लगायत सन्देश अंकित प्लेकार्डसहित सहभागीहरू महेन्द्र चोकबाट जलजला चोक, गोल्छामोड हुँदै विराटनगर रंगशालासम्म पुगेका थिए। प्रभातफेरीका क्रममा स्थानीय नागरिकले समेत अभियानप्रति ऐक्यबद्धता जनाउँदै सकारात्मक प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको दोस्रो चरण विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा सम्पन्न भएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावलाई उजागर गर्ने “अन्धकारबाट उज्यालतर्फ” शीर्षकको चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो।


त्यसैगरी, लागूऔषध विरुद्ध सन्देशमूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको जीवन संघर्ष र पुनःस्थापनाको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। उक्त प्रस्तुतीहरूले कार्यक्रममा सहभागीहरूलाई भावुक बनाउनुका साथै लागूऔषध दुर्व्यसनको वास्तविकता र त्यसबाट बाहिर निस्कन सकिने सम्भावनाबारे गहिरो सन्देश दिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन आज समाजका लागि भयावह चुनौतीका रूपमा देखापरेको बताउनुभयो। उहाँले विशेषगरी किशोर र युवावर्ग लागूऔषधको चपेटामा पर्न थालेको अवस्थाले समाजलाई चिन्तित बनाएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच समन्वित सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

“लागूऔषधले केवल एउटा व्यक्तिलाई होइन, पूरै परिवार र समाजलाई असर गर्छ,” उहाँले भन्नुभयो, “युवालाई सही दिशा दिन सके मात्र सुरक्षित र समृद्ध समाज निर्माण सम्भव हुन्छ।”
नेपाल प्रहरीका संगठन प्रमुख दान बहादुर कार्कीले विराटनगरबाट सुरु गरिएको “मेगा क्यान” अभियानलाई आगामी दिनमा देशव्यापी रूपमा विस्तार गरिने जानकारी दिनुभयो। उहाँले लागूऔषध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने स्पष्ट पार्दै परिवार, विद्यालय, स्थानीय सरकार, सञ्चारमाध्यम तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

उहाँले युवाहरूलाई खेलकुद, शिक्षा, सिर्जनशीलता र सामाजिक गतिविधितर्फ आकर्षित गर्न सके लागूऔषध दुर्व्यसन न्यूनीकरणमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, प्रतिनिधि सभाका सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, गृह मन्त्रालयका सहसचिव तथा लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायतले लागूऔषध विरुद्ध साझा अभियान आवश्यक रहेकोमा जोड दिएका थिए।
वक्ताहरूले पछिल्लो समय लागूऔषध दुर्व्यसन सामाजिक, आर्थिक तथा मानसिक समस्यासँग जोडिएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना, परामर्श, पुनःस्थापना र सामाजिक पुनर्संयोजनलाई समेत प्राथमिकता दिनुपर्ने बताएका थिए।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध नियन्त्रण अभियानलाई सबै क्षेत्रबाट ऐक्यबद्धतासहित अघि बढाउनुपर्ने बताउँदै समाजका हरेक नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले युवालाई कुलतबाट जोगाउन समुदाय–प्रहरी साझेदारी अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले अभियानको उद्देश्य, आवश्यकता तथा मोरङ जिल्लामा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले सीमावर्ती जिल्लाका कारण मोरङ लागूऔषध ओसारपसारको जोखिममा रहेको उल्लेख गर्दै नियन्त्रण, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै अघि बढाइने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।
उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, न्यायाधीश, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाजका अगुवा तथा प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
मोरङबाट सुरु भएको “मेगा क्यान” अभियानले लागूऔषध विरुद्धको लडाइँलाई केवल सुरक्षा चुनौतीका रूपमा नभई सामाजिक अभियानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। समाजका सबै तह र वर्ग एकजुट भए मात्र युवापुस्तालाई कुलतबाट बचाउँदै स्वस्थ, सुरक्षित र उज्ज्वल भविष्य निर्माण गर्न सकिने सन्देश कार्यक्रमले दिएको सहभागीहरूको भनाइ थियो।
