सेयर लगानीकर्ताले किन पत्याएनन् अर्थमन्त्रीको आश्वासन?

जेठ १८

सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोर्‍याइरहेका भए पनि लगानीकर्ताहरूले पत्याउन सकिरहेका छैनन्।

यही कारण सेयर बजारमा सुधार आउन सकिरहेको छैन। बजेट सार्वजनिक पछि सोमबार खुलेको सेयर बजार परिसूचक २६‍‍.७२ अंकले घटेर २७५५ विन्दुमा आएको छ। बजार खुलेदेखि नै घट्न थालेको बजार एकपटक अघिल्लो दिनकोभन्दा माथि पुगे पनि त्यसपछि लगातार घट्यो।

अर्थमन्त्रीले नै भनेपछि पनि किन लगानीकर्ताले उनको कुरा पत्याइरहेका छैनन् त?

‘बजेटको लागि ल्याइने राष्ट्र ऋण उठाउने ऐन, आर्थिक ऐन र विनियोजन विद्येयकको मात्रै कानुनी हैसियत हुन्छ, बजेट भाषणको हुँदैन,’ एक कर विज्ञले भने, ‘तर, ऐनमा यस्तो कर सबैलाई अन्तिम भनेर स्पष्ट रूपमा नआएकोले पनि लगानीकर्ताहरू दुविधामा परेका हुनसक्छन्।’

आर्थिक विधेयकले अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीमा सेयरमा लाग्ने पुँजीगत लाभकरलाई राखेको छ।

यसै विधेयकमा सेयर कारोबार गरे बमोजिम आय विवरण पेश गर्न नचहाने बासिन्दा प्राकृतिक व्यक्ति र गैर बासिन्दा व्यक्तिको लाभ रकम भनेर आर्थिक विधेयकले अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीमा उल्लेख गरेको छ।

आय विवरण पेश गर्न नचहाने (नपर्ने) को मात्रै अन्तिम भनिएको तर विवरण पेश गर्न पर्नेको लागि होइन की भन्ने दुविधामा अझै पनि लगानीकर्ता छन्।

‘अर्थमन्त्री ज्यूले भनेको कुरा स्पष्ट रूपमा ऐनमा आइदिएको भए सजिलो हुन्थ्यो,’ एक सेयर लगानीकर्ताले भने, ‘ऐनमै स्पष्ट रूपमा नखुलेपछि पछि सरकारी कर्मचारीहरूबाट फेरि नि दु:ख पाइन्छ भन्ने लगानीकर्ताहरूलाई लागेको छ।’

आइतबार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले सेयर बाहेक अन्य व्यवसायी, आम्दानी भएकाहरूले आय विवरण बुझाउनुपर्ने भए पनि उनीहरूलाई समेत पुँजीगत लाभकर अन्तिम भएको बताए।

तर, यसअघि पनि यो विषयमा दुविधा हुँदै आएकोले लगानीकर्ता आश्वस्त हुन नसकिरहेका हुन्।

सेयर विश्लेषक तथा लगानीकर्ता विष्णु बस्याल भन्छन्, ‘अहिलेको व्यवस्थाले गम्भिर व्याख्यात्मक समस्या सृजना गर्नसक्छ।’

उनले लगानीकर्ताले वर्षभरीको नाफा घाटाको समायोजन पछि मात्रै कर तिर्ने व्यवस्था समेत हुनेपर्ने बताए।

अहिलेको व्यवस्थाले सानाभन्दा पनि ठूला लगानीकर्तालाई धेरै पिरोलेको हो। अहिले पनि वार्षिक ४० लाख रूपैयाँभन्दा माथिको कमाई हुनेले अनिवार्य आय विवरण बुझाउनुपर्छ।

यसअघि देखि नै सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम कर होकी होइन भन्ने विवाद थियो।

आर्थिक वर्ष २०८०–८१ मा प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आव २०७६–७७ देखि २०७८–७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आय करको ५० प्रतिशत रकम तिरेमा बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था गरिएको थियो। यसपछि लगानीकर्ताहरू अर्थमन्त्रालय नै पुगेर विवाद समाधान गरेका थिए।

सरकारले यही बजेटमार्फत् आगामी आर्थिक वर्षबाट सेयर कारोबारको पुँजीगत लाभकर समेत बढाएको छ। एक वर्षभन्दा कम अवधिमा बेच्नेले अब लाभमा १० प्रतिशत र लगानी समयको एक वर्ष पछि बेच्नेले लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ।

यसअघि यस्तो दर ५ देखि ७.५ सम्म मात्रै थियो। लगानीकर्ता विश्वस्त नहुँदा सोमबार कारोबार रकम पनि घटेको छ। गत बुधबार ६ अर्ब ३ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ६१ करोडमा सीमित भएको छ।

यसदिन सेयर कारोबारमा आएकामध्ये ३५ कम्पनीको मूल्य बढेको छ भने २३३ को घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply