गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघरहरु सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री जमकट्टेलले कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँले जोखिमको पहिचान भएका स्थानीय तहहरुमा पूर्वतयारी गरिहाल्नुपर्नेसमेत बताउनुभयो । उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो ।

प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा हुने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् ।

विगत १० वर्षको तथ्याङ्कअनुसार दुई सय ४३ वटा बाढीका घटनामा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । विसं २०७९ को मनसुन तथ्याङ्कअनुसार यस प्रदेशमा १३ वटा बाढीका घटना भएका र दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो । विसं २०७९ को बाढीको तथ्याङ्कअनुसार यसको प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । यसमा साउनमा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको थियो । यहाँका १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।

बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी, नेकपा एमाले बागमती प्रदेशसभा प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेससभा सदस्य सरल सहयात्री पौडेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धु्रव गैडा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply