हेमा भट्ट जेठ १० गते
कञ्चनपुर – भीमदत्त नगरपालिका-४ स्थित गल्ली नम्बर ४ मा रहेको ग्रान्ड प्यासिफिक रेष्टुरेन्टमा शुक्रबार राति कुटपिटको घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मिति २०८३ जेठ ९ गते राति करिब ८:५० बजे भीमदत्त-२ उल्टाखाम निवासी किशोर चन्दले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा भीमदत्त-४ बसपार्क निवासी समिर बुढा, अभिषेक अवस्थी तथा बेदकोट नगरपालिका-७ सडा निवासी गौरव चन्द्र ठकुरीसहित केही अपरिचित व्यक्तिहरू पुगेका थिए।
उनीहरूले रेष्टुरेन्ट सञ्चालक किशोर चन्दका भाइ गोविन्द्र चन्द्रमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। घाइते गोविन्द्रलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको र डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। स्थानीयवासीले पनि यस्ता घटनामा प्रहरीलाई सहयोग गर्दै शान्ति सुरक्षा कायम गर्न आग्रह गरेका छन्। प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास दिलाएको छ।
