हेमा भट्ट,भदाै,१३
कञ्चनपुर-कृष्णपुर नगरपालिका-९, घोडाघाटस्थित सीता सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ यही २०८३ साल साउन १४ गते सामुदायिक भवनको प्राङ्गणमा आयोजना हुने भएको छ। ‘रूख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको साधारणसभामा वन संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापनसँगै हरित उद्यम, पर्यापर्यटन र स्थानीय रोजगारी प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइने समूहले जनाएको छ।
साधारणसभामा समूहका वार्षिक गतिविधि, वन संरक्षण तथा व्यवस्थापनका उपलब्धि, आय-व्यय विवरण, उपभोक्ताको हितमा भएका कार्य तथा आगामी योजना प्रस्तुत गरिनेछ। साथै सार्वजनिक सुनुवाइमार्फत पारदर्शिता, जवाफदेहिता र उपभोक्ताको सहभागिता थप सुदृढ गर्ने लक्ष्य राखिएको छ।
वनलाई केवल काठको स्रोतका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधता, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको आधारका रूपमा विकास गर्ने उद्देश्यसहित आगामी योजना तथा कार्यक्रमबारे समेत छलफल गरिने समूहले जनाएको छ। समूहले सम्पूर्ण उपभोक्ता, स्थानीय समुदाय, जनप्रतिनिधि, सरोकारवाला तथा शुभेच्छुकलाई निर्धारित मिति, स्थान र समयमा उपस्थित भई साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सफल बनाउन हार्दिक आमन्त्रण गरेको छ साउन १४ गते स्थान : सामुदायिक भवनको प्राङ्गण, घोडाघाट, कृष्णपुर-९, कञ्चनपुर सीता सामुदायिक वन उपभोक्ता समूह “हरियो वन, समृद्ध समुदाय”
