बेइजिङ, भदौ २३ गते । चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङका कारण चीनको घरेलु उद्योगमा क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ। अधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत शुल्क निर्धारण गरिएको छ।
चीनले गत जनवरीमा सुरु गरेको अनुसन्धानपछि यस्तो निर्णय गरेको हो। जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको कदमप्रति कडा विरोध जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिएको बताउनुभयो।
जापानले चीनका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिने जनाएको छ। ताइवानलगायत विषयमा चीन र जापानबीच कूटनीतिक मतभेद बढिरहेका बेला चीनको पछिल्लो निर्णय आएको हो।
अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्नेबारे चिनियाँ मन्त्रालयले समयसीमा तोकेको छैन।
