संयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनका युद्धसम्बन्धी कदम र शान्ति स्थापनाका प्रयासबारे धारणा राख्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्दै गाजाको द्वन्द्व अन्त्य गर्ने आफ्नो पहल तथा इजरायलसँग भएको अब्राहम सम्झौतामा थप अरब राष्ट्रलाई सहभागी गराउने प्रयासबारे पनि बोल्ने सम्भावना छ । हर्मुज जलघाँटीमा युद्धका कारण भएको अवरोध र त्यसबाट परेको आर्थिक क्षतिबारे समेत उहाँले आफ्नो धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीका अनुसार ट्रम्पले महासभामा आफूलाई शान्ति स्थापनाका पक्षधर र सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । उहाँले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचना पनि दोहोर्याउन सक्ने अनुमान गरिएको छ ।
गत वर्ष महासभामा सहभागी हुँदा ट्रम्पले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा एस्केलेटर रोकिएको तथा टेलिप्रोम्प्टरमा समस्या आएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले भने एस्केलेटरको जाँच गरिएको र अमेरिकी प्रतिनिधिमण्डलका लागि नयाँ टेलिप्रोम्प्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
महासभाको उच्चस्तरीय बैठकमा युद्ध, कृत्रिम बौद्धिकता, विश्वव्यापी सुरक्षा तथा आर्थिक चुनौतीलगायत विषयमा छलफल हुँदैछ । ट्रम्पअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्बोधन गर्नुहुनेछ । सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा चल्ने उच्चस्तरीय छलफलका क्रममा लुलाले ब्राजिलको आगामी निर्वाचनमा हस्तक्षेप नगर्न ट्रम्पलाई आग्रह गर्ने बताउनुभएको छ ।
