नेपाल चीन सम्बन्ध: नेपाली व्यवसायीहरूले ‘विश्वास गुमाएको’ उत्तरी नाकामा देखिएको ताजा समस्या के हो, कहिले हल हुन्छ

ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासले तत्कालै नेपाल चीन व्यापार नाकाहरूमा देखिएका अवरोध खुल्ने सम्भावना कम रहेको जनाएको छ।

कोरोनाभाइरसका कारण तिब्बतमा लगाइएको लकडाउनका कारण दशैँ अगाडि आफूहरू मर्कामा परेको नेपाली व्यवसायीहरूले बताइरहँदा नेपाली परराष्ट्र निकायको उक्त भनाइ आएको हो।

एउटा विज्ञप्तिमा नेपाली महावाणिज्यदूत जिम्सन रुम्दाली राईले भनेका छन्, “लकडाउन जारी भएको बखत पनि कोभिड प्रोटोकल पालना गर्दै ट्रक ढुवानी गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ। तर हाल कोभिड सङ्क्रमण बढ्दो रहेको र ल्हासा, सिगात्से, न्यालम, केरुङ आदि स्थानमा पूर्ण रूपमा बन्दाबन्दी रहेकाले नाका तत्कालै खुल्ने सम्भावना कम देखिन्छ।”

यसअघि व्यवसायीहरूले दशैँसँग जोडिएका मालसामानसहित करिब २०० कन्टेनर सीमापार नेपाल प्रवेशका लागि अनुमति कुरिरहेको बताएका थिए।

विक्रम सम्वत् २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुरुमा तातोपानी नाकाको व्यापार ठप्प भएको थियो।

त्यसयता उक्त नाका पुन सञ्चालनमा ल्याउने प्रयासले पूर्ण रूपमा गति नलिँदै कोरोनाभाइरसको महामारीका कारण त्यो र रसुवागढी नाका दुवैबाट हुने गतिविधि प्रभावित भएका छन्।

नेपाल चीन नाकामा देखिएको पछिल्लो समस्या के हो?

नेपाली अधिकारीहरूका अनुसार कोरोनाभाइरसको महामारी बढ्दै गएको र त्यसका कारण आफूले लकडाउनसम्म गर्नुपरेको भन्दै चीनले गएको साउन २५ गते यता नाकाहरूबाट सामान पठाइरहेको छैन।

त्यसरी नाका अवरुद्ध हुनु अघिसम्म निश्चित सङ्ख्यामा मालवाहक कन्टेनरहरूलाई नेपाल प्रवेश दिइरहेका थिए।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतम भन्छन्, “त्यस्तो हुनुअघि दिनकै कहिले चार, कहिले ६ र कहिले १२ देखि १४ वटासम्म कन्टेनर आउँथ्यो। औसतमा ८ वटा जति कन्टेनर आउँथ्यो। तर अहिले त्यो पनि आएको छैन।”

नेपाल चीन हिमालय सीमा पार व्यापार सङ्घका अध्यक्ष अशोक श्रेष्ठका अनुसार तिब्बतमा अगस्ट २४ सम्म लकडाउन नै भएको उल्लेख गर्दै कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा नआई सामानहरूको आपूर्ति सुचारु हुन्छ भन्ने आफूलाई नलागेको बताए।

उनका अनुसार दशैँलाई लक्षित सामग्री लिएर आएका कन्टेनर हाल रोकिएका छन्।

श्रेष्ठ भन्छन्, “ती सामानहरू पठाइदिँदा त्यो राम्रो हुन्थ्यो। किनभने यहाँ व्यापारी पनि बिग्रँदैन थियो। सामान समयमा आएन भने खानेकुरा जस्तो बस्तुहरू कुहिएर जाने हुन्छ। भोलि त्यसो भयो यसको जवाफ कसले लिने?”

नाका सञ्चालनमा ल्याइनुपर्ने व्यवसायीको मागबारे सरकार के भन्छ?

व्यवसायीहरूले नेपाल र चीन दुवैले नाकामा आइसकेका सामानलाई ल्याउन वातावरण बनाउन माग गरेका छन्।

नेपाल चीन नाकामा पछिल्ला महिनाहरूमा बारम्बार समस्या देखिएकाले साना र मझौला व्यवसायीहरू पलायन भएको उनीहरूको भनाई छ।

पछिल्लो समस्याबारे कूटनीतिक रूपमा आफूहरूले पहल गरिरहेको वाणिज्य मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने, “हामीले अनुरोध गर्ने हो। उहाँहरूले लकडाउनपछि हामी खोल्छौँ भन्नुभएको छ।”

अघिल्लो महिनाको आफ्नो चीन भ्रमणपछि नेपालका परराष्ट्र मन्त्री नारायण खड्काले तिब्बतमा देखिएको कोभिडको पछिल्लो लहर नियन्त्रणमा आएपछि तातोपानी र केरुङ नाका दुईतर्फी रूपमा खोल्ने सहमति भएको बताएका थिए।

उनले दुवै देशले नाकामा संयुक्त कोभिड नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति गरेको पनि उल्लेख गरेका थिए।

चिनियाँ पक्षको विज्ञप्ति नाका सञ्चालनबारे मौन रहेको भएपनि बेइजिङले दुई देशले महामारी नियन्त्रण र स्वास्थ्य उपचार सहितका विषयमा सहकार्य अभिवृद्धि गर्ने निर्णय गरेको जनाएको थियो।

मन्त्री खड्का नेपाल फर्किए लगत्तै नाकाहरू अवरुद्ध भएका विवरण आएका थिए।

वाणिज्य मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मी भन्छन्, “हाम्रोतर्फबाट औपचारिक र अनौपचारिक गरेर हरेक दिन कुराकानी हुन्छ। त्यहाँ हाम्रा वाणिज्यदूतहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ। परराष्ट्र मन्त्रालयले गर्छ। उहाँहरूले लकडाउन सकिएपछि खोल्छौँ भन्नुभएको छ।”

ल्हासास्थित महावाणिज्यदूतका अनुसार तिब्बतमा हाल स्वास्थ्य जस्ता अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहेका छन्।

त्यसका कारण तिब्बतको वाणिज्य विभाग र परराष्ट्र कार्यालयसँग सम्पर्क गर्न कठिनाइ गर्न गाह्रो भएको उसको भनाइ छ।

त्यही भएर नाका तत्कालै खुल्ने सम्भावना कम रहेको महावाणिज्यदूतावसको विज्ञप्तिमा जनाइएको छ।

तिब्बतमा कोभिडको ताजा अवस्था के छ?

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले आइतवार प्रकाशित गरेको खबर अनुसार शनिवार तिब्बतमा लक्षण बिनाका ५६० वटा कोभिड सङ्क्रमणका घटना पुष्टि भएका थिए।

शुक्रवार द गार्डियनले प्रकाशित गरेको एउटा विवरण अनुसार यसै महिनाको सुरुमा सन् २०२० यता पहिलोपटक तिब्बतमा कोभिड सङ्क्रमण देखा परेको थियो।

सङ्क्रमण देखिएपछि ल्हासा र सिगात्सेमा व्यापक रूपमा कोभिडको परीक्षण गराइएका उक्त खबरमा जनाइएको छ।

पछिल्लो महामारीका कारण तिब्बतमा हजारौँ पर्यटकहरू फसिरहेको र त्यहाँका क्वारन्टीन कक्षहरू पनि भरिएका जनाइएको छ।

त्यहाँ जारी गरिएका पछिल्लो निषेधाज्ञा कहिले खुकुलो पारिन्छ भन्ने प्रस्टसँग जनाइएका छैनन्।

तर अन्य शहरबाट तिब्बत आउन खोज्ने विदेशीहरूलाई तत्काल नआउन सूचना गरिएको छ।

के नेपाल चीन सीमा नाकामा देखिएको यो पहिलो अवरोध हो?

होइन। खास गरी गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विक्रम सम्वत् २०७२ सालमा शक्तिशाली भूकम्प गएपछि त्यसले तातोपानी नाकामा ठूलो क्षति गराएको थियो। त्यसयता नाकाहरूमा विभिन्न कारणले अवरोध भइरहेका छन्।

मर्मत सम्भार गरेर तातोपानी नाका सञ्चालनमा ल्याउने प्रयास गरिए पनि भूकम्पपछि उक्त नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन्।

भूकम्पपछि चीनले आफ्नो भूभागमा पर्ने खासा बजारलाई सुरक्षित स्थानमा सारेको थियो। त्यसपछि अधिकांश व्यापार रसुवागढी नाकामा केन्द्रित भएको थियो।

तर कोरोनाभाइरसको महामारी देखा परेसँगै ठप्प दुवै नाकामा पछि निश्चित कोटा तोकेर एकाध कन्टेनरहरूलाई मात्रै नेपाल पठाउने गरिएको थियो।

व्यवसायीहरूले चिनियाँ कडाइका कारण ठूलो आर्थिक क्षति व्योहोर्नुपरेको बताएका थिए।

सडक मार्गबाट लगभग २० देखि २५ दिनमा नेपाल सामान भित्र्याउने गरेका उनीहरूले ५० दिनभन्दा बढी लाग्ने र खर्च पनि महँगो पर्ने समुद्री मार्ग रोज्न थालेका व्यवसायीहरू बताउँछन्।

हिमालय सीमापार व्यवसायी सङ्घका अध्यक्ष श्रेष्ठ भन्छन्, “अहिले त व्यवसायीहरूको उत्तरी नाकाबाट विश्वास नै टुटिसक्यो।

हरेक वर्ष कहिले गाडी भाडा बढ्ने, कहिले बन्द हुने, कहिले के हुने भएपछि अब बरु दुई महिना लागोस् ढुक्क हुने समुद्री मार्ग नै प्रयोग गर्न थालेका छन्।”

कतिपयले खटाइ खटाइ कन्टेनर पठाउने र नाका नियन्त्रण गर्ने चीनको प्रयासलाई नाकाबन्दीका रूपमा अर्थ लगाउने समेत गरेको पाइन्छ।

तर बीबीसीलाई दिएको एउटा प्रतिक्रियामा काठमाण्डूस्थित चिनियाँ दूतावासका प्रवक्ताले नेपालसँगको ‘सम्पर्क सञ्जाल र सीमापार व्यापारलाई उच्च प्राथमिकता दिएको’ र नाका सञ्चालनका लागि मेहनत गरिरहेको डेढ वर्ष अघि बताएका थिए।

कोभिड नियन्त्रण सम्बन्धी बेइजिङले अपनाएको नीतिका कारण चीनसँग सीमा जोडिएका अन्य देशहरूमा पनि यस्तै प्रकृतिका समस्याहरू देखिएको खबर आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply