बाँके क्षेत्र नंं १ र २ का उम्मेदवारहरुको प्रतिबद्धता

खजुरा, २९ कात्तिक ः आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्ला क्षेत्र नंं १ मा दल तथा तिनका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता लिएर मतदातामाझ पुगिरहेका छन् । प्रतिबिद्धता पत्रमा विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य, कृषि, पशु, उद्योग, व्यापारलगायत क्षेत्रअन्तर्गत विभिन्न महत्वकांक्षी योजना समेटिएका छन् । बाँके क्षेत्र नं १ भौगोलिक हिसबाले ठूलो क्षेत्र भएको, वनजङ्गल, नदी नालासहितको प्राकृतिक स्रोत रहेको छ भने पश्चिम नेपालको सडक मार्गका लागि केन्द्रको रुपमा चिनिन्छ । कोहलपुर नगरपालिकादेखि कर्णाली प्रदेश मार्ग, सुदूरपश्चिम मार्गको कनेक्टीभिटी रहेको छ ।

उम्मेदवारले स–साना भौतिक पूर्वाधार निर्माणका वाचालाई घोषणापत्रमा समेटेका छन् । सडक निर्माण, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा र समृद्ध सहरका लागि वृक्षरोपण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार, खेलकुद, युवा, किसानलाई समयमा मलखादको व्यवस्थापन, भू–संरक्षण, एकै किसिमका घर, नेपालगञ्जलाई लोडसेडिङ मुक्तलगायतका विषय उम्मेदवारले समावेश गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका प्रतिबद्धता

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत दलको गठबन्धनका क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेदवार माओवादीका महेश्वरजंग गहतराजले बाँके जिल्लाको विकास, समृद्धि र जनताको पहुँचलाई वृद्धि गर्न, बाँकेलाई कृषि, पर्यटन, पूर्वाधार र औद्योगीकरण बनाउने घोषणापत्रमा उल्लेख गर्नुभएको छ । कोहलपुर क्षेत्रलाई पश्चिम नेपालको महत्वपूर्ण केन्द्र बनाउन, स्वरोजगार सिर्जना गर्ने, त्यसका लागि कृषि, पर्यटन र औद्योगीकरणको विकास, योजना कार्यान्वयन गर्ने र नयाँ रणनीतिक योजना सुचारु गर्ने उहाँको मुख्य एजेण्डा रहेको छ । गठबन्धनबाट प्रदेशसभा १ (क)बाट नेपाली कांग्रेसबाट फुलाराम चौधरी र प्रदेशसभा १(ख)बाट नेकपा माओवादीबाट कृष्णकेसी उम्मेदवार रहनुभएको छ ।

एमाले–राप्रपा गठबन्धनको प्रतबद्धता

क्षेत्र नंं १ मा तीन वटा स्थानीय तह रहेका छन् । नरैनापुरलाई विकासको मूलधारमा ल्याउनका लागि कार्यक्रम, राप्ती सोनारीमा रहेको कटान र डुबानलगायतका समस्याको दीर्घकालीन समाधान, कोहलपुर पश्चिम क्षेत्रको विकासको केन्द्र र विकसित सहर बनाउने मुख्य योजना रहेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा ृएमाले)का सूर्य ढकालले यहाँको शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधार विकास आफ्ना प्रमुख चुनावी एजेण्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँको विकासका लागि लगानी भित्र्याउने मेरो एजेण्डा छ, पुल निर्माण, विकासका पूर्वाधार निर्माण र समृद्ध तथा विकसित निर्वाचन क्षेत्र बनाउनुपर्नेछ ।” जनताले दैनिक भोगिरहेको समस्या समाधान गर्ने मेरो जिम्मेवारी हो । यसको लागि म पूर्णरुपमा कटिबद्ध भएर लाग्ने छु । राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई बलियो बनाउन, समृद्ध नेपाली सुखी नेपालीको आंकाक्षा पूरा गर्नुपर्ने योजना रहेको उहाँको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) को एजेण्डा

क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जसपाबाट रामकुमार यादवले आफना प्रतबद्धता जनतामाझ सार्वजनिक गर्नुभएको छ ।

उहाँले यहाँको आदिवासी, जनजाति, पिछडिएको वर्गको अधिकार र उत्थानका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “थुप्रै पार्टी जितेको र विकास निर्माणको काम जनअपेक्षाअनुसार हुन नसकेको अवस्थामा जनताबाट निर्वाचित भएर संसद्मा गएर यहाँको विकासका अवाज उठाउने छु । कोहलपुर बसपार्क, हाइमास्ट लाइट र पुल हाम्रो पालामा भएको दाबी गर्दै शिक्षा क्षेत्रको विकृति अन्त्य गर्ने मेरो उम्मेदवारी परेको उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका योजना

बाँके क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबाबु काफ्लेले समाजमा व्याप्त भ्रष्टाचार, बेथिति अन्त्यका लागि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने, नागरिकका कुरा नेताबिना सुन्ने मैत्रीपूर्ण सुरक्षा निकाय बनाउने र हरेक अभिभावकले गर्व गर्न लायक सामुदायिक विद्यालय स्थापना गर्ने मुख्य योजना रहेको बताउनुभयो । उहाँले भन्नभयो “गुणस्तरीय विकास निमार्णका कामको ग्यारेन्टी मेरो पहिलो ऐजेण्डा हो र दीर्घकालीन विकासका आयोजनाको सुरुवात गर्ने छु ।” अपाङ्गतामैत्री सामुदायिक विद्यालय, छोरीमैत्री समाज, डिजिटल समाज निमार्ण गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

राजनीतिक दल तथा तिनका गठबन्धनले केन्द्रबाट एउटा चुनावी प्रतिबद्धता सार्वजनिक गरेपनि अहिले स्थानीयस्तरका मुद्दालाई समेटेर चुनावी प्रतिबद्धतापत्रहरु सार्वजनिक गरेका छन् । ती प्रतिबद्धतामा कहीँ कतै स्थानीय तहको निर्वाचनको झल्को देखिन्छ भने गरिब तथा विपन्न समुदायको जीवनस्तर सुधार तथा रोजगारीजस्ता मुख्य मुद्दाहरूमा ती प्रतिबद्धतापत्रहरू बोलेका छैनन् ।

बाँके क्षेत्र नंं २ शहरकेन्द्रित निर्वाचन क्षेत्र भएकोले यहाँका स्थानीय निर्वाचनका उम्मेदवारले सानासाना भौतिक पूर्वाधार निर्माणका बाचाहरूलाई घोषणापत्रमा समेटेका छन् । सडक निर्माण, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा र समृद्ध सहरका लागि वृक्षरोपण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग व्यापार, खेलकुद, युवा, कृषकलाई समयमा मलखादको व्यवस्थापन, भू–संरक्षण, एकै किसिमका घर, नेपालगन्जलाई लोडसेडिङ मुक्तलगायतका विषय उम्मेदवारले समावेश गरेका छन् ।

नेपाली कांग्रेसको प्रतिबद्धता

बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेशसभा २ (क)का उम्मेदवार राजकुमार बर्मा र प्रदेशसभा २ (ख)का उम्मदवार सुरेन्द्रबहादुर हमालले पनि क्षेत्रको बृहत्तर विकासका लागि आफनो प्रतिबद्धतापत्र अघि सार्नुभएको छ । उहाँहरुको प्रतिबद्धतापत्र औपाचारिक रुपमा शनिबार सार्वजनिक गर्न लागिएको उम्मेदवार राणाले बताउनुभयो । हाल तयार रहेको प्रतिबद्धता पत्रमा विशेष गरि नेपालगन्ज विश्वविद्यालय, तालको संरक्षण, अस्पतालको स्तरबृद्धि, पर्यटनलाई प्रोत्साहन, विभिन्न सडक पुर्वाधारको निमार्ण, सिंचाइ प्रबन्ध, राप्ती नदीको कटान, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा सहरका लागि वृक्षारोपण, कृषि, उद्योगको विकास लगायतका मुख्य सवालहरु प्रतिबद्धतापत्रमा समाबेश गरिएका छ ।

एमाले–राप्रपाको गठबन्धनको घोषणापत्र

बाँके क्षेत्र नम्बर २ अहिले चुनावी चर्चामा रहेको छ । यहाँ एमाले–राप्रपाको गठबन्धनले यस क्षेत्रका लागि भनेर ३२ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राप्रपाका डा धवलशमशेर राणा र प्रदेशसभा सदस्य २ (क) मा एमालेका विजयबहादुर यादव र प्रदेशसभा २ (ख)मा एमालेबाट उम्मेदवार निरक गुरुङ रहनुभएको छ ।

उनीहरूको संयुक्त प्रतिबद्धतापत्रमा डुडुवामा कन्या स्कुल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगन्जलाई मेडिकल हब बनाउन पर्यटनलाई प्रोत्साहन, नेपालगन्ज डुडुवा कनेक्टिभ रोड विस्तार र स्तरोन्नति, सिंचाइ प्रबन्ध, राप्ती नदीको कटान, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा सहरका लागि वृक्षरोपण, नेपालगन्ज बाहिरबाट आउटर रिङ्गरोड निर्माण, विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को प्रतिबद्धता

जनता समाजवादी पार्टी (जसपा) बाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले “इश्तियाकका १० दृष्टि” शीर्षक दिएर प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाँको चुनावी प्रतिबद्धतापत्रमा स्वास्थ्य, शिक्षा, कृषि, खेल, युवा, सामाजिक सुरक्षा, वातावरण, पूर्वाधार विकास, पर्यटन, समुन्नत सहरलाई प्राथमिकताक्रममा राखेर आफ्ना एजेण्डा समेटेको बताउनुभयो । शिक्षामा स्मार्ट विद्यालय र नमुना विद्यालयको कुरा गर्नुभएका राईले समयमा मल पु¥याउने वाचा पनि समेटनुभएको छ ।

उहाँले प्रतिबद्धतापत्रमा पाँच नमुना स्वास्थ्य संस्था, एमडी तथा एमएस शिक्षणका लागि पहल, स्मार्टस्कुल, स्मार्ट महेन्द्र बहुमुखी क्याम्पस, पशु एम्बुलेन्स, समयमै मल बीउ, स्मार्ट किसान, हरेक वडामा खेल संरचना, स्वरोजगार युवा, नेपालगन्ज टुरिज्म ट्रान्जिट योजना, नेपालगन्ज सहरको व्यवस्थापनलगायतका योजनाहरू समेटिएका छन् । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेशसभा २(क)का उम्मेदवार भण्डारीलाल यादव र प्रदेशसभा २ (ख)का उम्मेदवार आदेश अग्रवाल रहनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका विनोद अग्रहरीले “समृद्ध बाँकेको लागि वाचापत्र” सार्वजनिक गर्नुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई मुख्यगरी वाचापत्रमा समेटेको बताउनुभयो ।

उहाँको वाचापत्रमा बालबालिकाहरूलाई विद्यालयस्तरबाट सूचना प्रविधिसम्बन्धी औपचारिक शिक्षा दिने, मदरसा, गुरुकूल र गुम्बामा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षाको रूपमा दैनिक कम्तीमा पनि एक घण्टा डिजिटल प्रविधिबाट शिक्षा दिइने, प्राविधिक शिक्षा, नेपालगञ्जमा दैनिक ३० मिनेट इन्टरनेट सेवा निःशुल्क, शून्य ब्याक्टेरिया भएको खानेपानीको व्यवस्था, एकै किसिमका घर, नेपालगञ्जलाई विद्युत्भार कटौतीमुक्त, विदेशबाट आयातित वस्तुलाई नेपालमै एसेम्बल गर्ने औद्योगिक प्रतिष्ठानलाई विशेष छुटलगायतका योजना समेटेको सो पार्टीका बाँके जिल्ला सभापति लक्ष्मी तिवारीले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवार दिवाकर खनालका प्रतिबद्धता

बाँके क्षेत्र नम्बर २ मा शिव सेनाको समर्थनमा स्वतन्त्र उम्मेदवार रहनुभएका दिवाकर खनालले १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । खनालले हिन्दू राष्ट्र स्थापनाका लागि आन्दोलन, ठाउँठाउँमा गुरुकूल, भ्रष्टाचार विरोधी अभियान, किसानलाई समयमा मलखादको व्यवस्थापन, गौ संरक्षण, विकट गाउँमा बाटोघाटो निर्माण, धार्मिक पर्यटन, जिम र खेलकुद, डुबानको दीर्घकालीन समाधान, राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, रिङरोडको निर्माणमा पहललगायतका प्रतिबद्धता सार्वजनिक गरेको बताउनुभयो । बाँके जिल्लामा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । बाँके जिल्लामा एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष गरी तीन लाख ३२ हजार दुई सय ३१ र अन्य नौ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply