नेपालगञ्ज, २९ कात्तिक बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता समक्ष घरदैलोमा व्यस्त छन् ।
नेकपा (एमाले), राप्रपा गठबन्धन, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सडक, पूर्वाधार, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर मतदाता समक्ष पुगेका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं–१ को उम्मेदवार हुनुभएका माओवादी केन्द्रका नेता महेश्वरजङ्ग गहतराज दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी मैदानमा हुनुहुन्छ ।
उहाँले हुलाकी सडकदेखि लिएर दुर्गम मानिने नरैनापुर लाइृ राजमार्ग संग जोड्ने सडक निर्माणमा योगदान गरेको उल्लेख गर्दै कोहलपुरमा क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेको र कोहलपुर–११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासँगै क्रिकेट एकेडेमीको काम अगाडि बढेको बताउनुभयो । गहतराज युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । उहाँसँग नेकपा (एमाले) बाँकेका इन्जार्च सूर्य ढकाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ढकाललाई राप्रपाले साथ दिएको छ ।
उम्मेदवार ढकालले कोहलपुर नगरपालिकालाई आधुनिक सहरका रुपमा विकास गरिने र नरैनापुरमा देखिएको खडेरीको समस्यालाई सम्बोधन गर्न सिक्टा सिँचाइ योजनामार्फत सिँचाइको प्रबन्ध गरिने आफ्नो मुख्य ऐजेन्डा रहेको बताउनुभयो ।
उहाँले बाँके राष्ट्रिय निकुञ्जबाट पाउने राहत दिलाउन पीडितलाई हुने झन्झटबाट मुक्त गर्न सहजीकरण गरिने उल्लेख गर्र्दै रु २५ लाखको बीमा कार्यक्रम ल्याइने बताउनुभयो । मन्त्री गहतराज पुरानो अनुहारको उम्मेदवार हुनुहुन्छ र ढकाल नयाँ अनुहारको उम्मेदवार हुनुहुन्छ ।
प्रदेशसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट फुलाराम थारू, नेकपा (एमाले), राप्रपा गठबन्धनबाट दुर्गा चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७४ मा मन्त्री गहतराजले वाम गठबन्धनका तर्फबाट ३१ हजार एक सय ७३ मत ले निर्वाचित हुनुभएको थियो । कांग्रेस राप्रपा गठबन्धनका माधवराज खत्रीले २८ हजार दुई सय १७ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन क्षेत्र नं २ बाँकेको सबैभन्दा चर्चित र रोमाञ्चक चुनावी प्रतिस्पर्धा हुने क्षेत्रका रुपमा हेरिएको छ । यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्री इस्तियाक मोहम्मद राई र नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणा चुनावी मैदानमा हुनुहुन्छ । पूर्वमन्त्री राई तेस्रो पटक र राणा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा होमिनुभएको छ । राणा राप्रपा—एमालेको संयुक्त गठबन्धनबाट चुनावी मैदानमा हुनुहुन्छ । राई जनता समाजवादी पार्टीबाट एकल रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वाम—लोकतान्त्रिक गठबन्धनबाट सुदीपनरसिंह राणा चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई नेकपा (माओवादी) केन्द्रले साथ दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले रासायानिक मलको कारखाना स्थापना प्राथमिकताको विषय भएको उल्लेख गर्दै नगरप्रमुख हुँदा अधुरा रहेका योजनालाई अहिले पूरा गर्ने वाचा गर्नुभएको छ ।
विसं २०७४ को निर्वाचनमा राई दुईवटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो । त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । राईले २१ हजार पाँच सय ७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार नौ सय ५१ र राप्रपाका आजादले ११ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको थियो ।
राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटा विगतमा भन्दा अहिलेको अवस्था परिवर्तन भएकाले जितको आधार बलियो भएको बताउनुहुन्छ ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा राणा प्रतिस्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राईभन्दा करिब १० हजार मतले अगाडि रहनुभएको छ ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत रहेको देखिन्छ । राप्रपा एमाले गठबन्धनबाट प्रदेशसभातर्फ विजयकुमार यादव र निरक गुरुङ नेपाली कांग्रेसबाट सुरेन्द्र हमाल, राजकुमार बर्मा र माओवादीबाट अक्कलबहादुर बम चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धन रहेको छैन ।
राईले पनि आफूले गरेका विकासका काम नै जितको आधार भएको बताउनुहुन्छ । जनताको शासक बन्ने होइन, जनताको चौकीदारी गर्न भोट मागिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले जनतालाई कहिल्यै ढाँटेको छैन , नसक्ने काम गर्छु भनेर कहिल्यै सपना बाँडेको छैन ।”
विसं ०५४ को स्थानीय चुनावमा नगर प्रमुखमा थोरै मतले पराजित दिवाकर खनाल पनि सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणालाई नेकपा (माओवादी) केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । तरुण दलबाट राजनीतिमा आउनुभएका सुदीपको बलियो पक्ष भनेको उहाँको व्यक्तिगत पृष्ठभूमिभन्दा पनि गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मत हो । गत स्थानीय तह चुनावमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार चार सय ७८, जसपाले १३ हजार आठ सय नौ, राप्रपाले आठ हजार चार सय ९४, माओवादीले ६ हजार आठ सय ५९, एकीकृत समाजवादीले आठ सय २१ र लोसपाले पाँच सय ६४ मत पाएका थिए ।
जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा वाम लोकतान्त्रिक गठबन्धनबाठ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र एमाले—राप्रपा गठबन्धनबाट किस्मतकुमार कक्षपति चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिनिधिसभामा दुवै उम्मेदवार नयाँ अनुहार हुनुहुन्छ ।
उम्मेदवार राठौरले बाँकेको पुरानो बजार खजुराको विरासत फर्काउने मुख्य एजेन्डा अघि सारेर चुनावी मैदनमा उत्रनु भएको छ । उहाँले नेपालगञ्ज–गुलरिया सडक चार लेन बिस्तार गर्ने, मुख्य बजार क्षेत्रलाई अत्याधुनिक बजारीकरण गरिने, भित्री सडकहरु चौडा र स्तरीय बनाउने तथा मुख्य बजारभित्रका क्षेत्रलाई कृषिमा आधारित उद्यम क्षेत्रका रुपमा विकास गरिने बताउनुभयो ।
एमाले—राप्रपा गठबन्धनबाट उम्मेदवार हुनुभएका कक्षपतिले शिक्षा र स्वास्थ्यको विकासमा जोड दिँदै प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आफूले गरेको पहललाई मूर्त रुप दिने बताउनुभयो । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट नन्दलाल रोका क्षेत्रीले ३१ हजार ६ सय एक मतले निर्वाचित हुनुभएको थियो । कांग्र्रेस राप्रपा गठबन्धनबाट बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको थियो ।
तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं. १ मा एक लाख २१ हजार एक सय मतदाता रहेका छन । सबैभन्दा कम क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । तीन सय ८० मतदान केन्द्र र एक सय ३८ मतदानस्थल भएको बाँकेमा कूल मतदाताको सङ्ख्या तीन लाख ३२ हजार दुई सय ३१ रहेको छ । यसअघि तीन लाख २९ हजार चार सय ७३ मतदाता रहेका थिए । तीमध्ये जिल्लामा नयाँ मतदाताको सङ्ख्या दुई हजार सात सय ५८ थप भएको छ ।
आठ स्थानीय तह भएको जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ ।
निर्वाचन क्षेत्र नं २ मा नेपालगञ्ज नगरपालिकाको २१ वडा, डुडुवा गाउँपालिका पर्छ । निर्वाचन क्षेत्र नं ३ मा नेपालगञ्ज उपमहानगरको वडा नं १६ र १७, बैजानाथ गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका पर्छ । बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौजना निर्वाचन हुनेछन् त्यसका लागि ८९ जनाले उम्मेदवारी दिएका छन् ।