फागुन २९ बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को सहयोग लिएर काम थालेको छ ।
घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अवलम्बन गरिएको बताए ।
प्रहरी उपरीक्षक शाहीले भनेका छन्, ‘सिआइबी सुर्खेत पुगेर अनुसन्धान थालेको छ । ‘पोष्टमार्टम’ रिपोर्ट अनुसन्धानको पाटोमा प्रहरी सक्रिय र गम्भीर भएर लागेर प्रारम्भिक अनुसन्धान भइसकेको छ । धेरै रिपोर्ट आइसकेको छ । मोबाइल पनि डिजिटल फोरेन्सिक ल्याबमा पठाइसकिएको छ । संदिग्ध र पीडित दुवैको मोबाइललगायत विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाण थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।’
केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिलोजिकल र वायो सेरोजिलिकल परीक्षणका लागि पठाइएको बताउँदै प्रहरी उपरीक्षक शाहीले त्यो रिपोर्ट आएपछि ‘पोष्टमार्टम’ र प्रयोगशालाबाट आउने रिपोर्टको तुलना गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए । उनका अनुसार यसका लागि छुट्टै टोली जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको छ ।
