लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको छ ।
लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानुन नबनेको भन्दै आवश्यक ऐन, नियम बनाउने कार्यलाई छिटो पूर्णता दिने बताउनुभयो ।
“ऐन, नियम बनेमा सञ्चार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारसँग सहकार्य गरी सल्लाह सुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ”, मन्त्री पाण्डेयले भन्नुभयो । उहाँले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र सञ्चार जगत्लाई विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।
मन्त्री पाण्डेयले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । “नवीकरण नहुँदा दुर्घटना बीमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुङ्गिन्छ”, उहाँले भन्नुभयो । पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने भन्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जनाउनुभयो ।
मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । स्थानीय उत्पादनलाई ‘ब्राण्डिङ’ गरेमा बजार चलायमान हुने उहाँको भनाइ छ । मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ सरकार लागिपरेको बताउनुभयो ।