रिलिशा राजवंशी, माघ २६
बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिका–५, चिलहरियामा अवस्थित श्री दुर्गा भगवती माता मन्दिरको भव्य उद्घाटन समारोह धार्मिक श्रद्धा, सामाजिक एकता र उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। विशेष पूजाआजा सहित आयोजित कार्यक्रममा ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति देखिएको थियो।


उद्घाटन समारोहका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारु र वडा नं. ५ का वडाध्यक्ष झगरू प्रसाद थारु उपस्थित रहनुभएको थियो। प्रमुख र विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
समारोहमा समाजसेवी तथा बुद्धिजीवी दिलबहादुर बुढा विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो। मन्दिर निर्माणमा उहाँले पुर्याउनुभएको योगदान उल्लेखनीय रहेको जनाउँदै आयोजक समितिले उहाँबाट रु. ९,६६,७७९ बराबरको सबैभन्दा ठूलो दान प्राप्त भएको जानकारी दिएको छ।


मन्दिर सभा समिति अध्यक्षको जिम्मेवारी भाविता पून ले सम्हाल्नुभएको छ भने कार्यक्रमको उद्घोषण सिर्जना युवा स्पोर्ट क्लब का अध्यक्ष निरेश पुन मगर ले गर्नुभएको थियो। साथै, खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष निमबहादुर बुढा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीका अनुसार स्व. शेरबहादुर घर्ती मगर को स्मृतिमा मन्दिरको गजुर निर्माण गरिएको हो। मन्दिरको स्थापना वि.सं. २०८०/६/१७ मा भएको बताइन्छ। हाल मन्दिरलाई अझ आकर्षक बनाउन सजावट, सरसफाइ तथा प्रसाद व्यवस्थापनमा स्थानीयहरू सक्रिय रूपमा जुटिरहेका छन्।
कार्यक्रममा मन्तव्य राख्दै जंगबहादुर पुन मगर ले मन्दिरका केही संरचनागत कार्य बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूले मन्दिरको संरचना र व्यवस्थापनमा पछिल्लो समय उल्लेखनीय सुधार आएको भन्दै खुशी व्यक्त गरेका छन्।


प्रमुख अतिथि अध्यक्ष तप्तबहादुर पौडेल ले मन्दिर केवल पूजाआजाको केन्द्र मात्र नभई भविष्यमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा उहाँले आफ्नो स्वास्थ्य अवस्थाबारे भावुक जानकारी दिँदै हाल क्यान्सर रोगसँग संघर्षरत रहेको र उपचाररत अवस्थामा पनि माता भगवतीको कृपाले कार्यक्रममा सहभागी हुन पाएको बताउनुभयो।
उपाध्यक्ष मनिषा सिंह थारु ले मन्दिर क्षेत्रलाई थप हरियाली र आकर्षक बनाउन गाउँपालिकाबाट रुख तथा फूलका बिरुवा अनुदान उपलब्ध गराइने घोषणा गर्नुभयो।
धार्मिक आस्था, सामाजिक सद्भाव र विकासको साझा भावनासहित सम्पन्न उद्घाटन समारोहले चिलहरियावासीमा नयाँ उत्साह र आशा थपेको छ। आयोजक श्री दुर्गा भगवती माता मन्दिर समिति ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, दाता र भक्तजनप्रति हार्दिक आभार व्यक्त गरेको छ।





