राप्ती सोनारी: सहकारी मार्फत रक्तदानमा बाँकेमा उत्कृष्ट प्रथम

कृष्ण केसी, चैत्र १८,
बाँके – मर्यादित सहकारी, समुन्नत समाज भन्ने मूल नारासँगै ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाले रक्तदान कार्यक्रममा पुनः प्रथम स्थान हासिल गरेको छ।

बाँके जिल्लाभरिका सबै स्थानीय तहमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, तर राप्ती सोनारीले यसपालि पनि आफ्नो नियमित योगदान र समर्पणको साथ अग्रणी भूमिका निर्वाह गरेको छ। गाउँपालिकाभित्र रहेका ३९ वटा सहकारीमध्ये २० सहकारी संस्थाले सक्रिय सहभागीता जनाएका थिए। यी सहकारी संस्थाबाट कुल १८५ पोइन्ट रक्त सङ्कलन गर्न सफल भएको जानकारी आयोजकले दिएका छन्।

सहकारी मार्फत प्राप्त रक्तले समयमै बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। कार्यक्रममा सहभागी सहकारी अभियन्ता, सेयर सदस्य, बुद्धिजीवी, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूको उत्साह उल्लेखनीय थियो।

रक्तदान कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान निम्न सहकारी संस्थाले प्राप्त गरेका छन्:जननी सामाजिक उद्यमी महिला सहकारी संस्था २८ पोइन्ट साकार कृषि सहकारी संस्था २३ पोइन्ट सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्था १५ पोइन्ट राप्ती सोनारी सहकारी समन्वय समितिका संयोजक जमान सिंह ओलीले बताएअनुसार, रक्तदान स्वास्थ्यका लागि पनि लाभदायक हुने भएकाले पहिलेको तुलनामा रक्तदाता संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ।

कार्यक्रमको आयोजना र समन्वय राप्ती सोनारी गाउँपालिका कार्यालय र राप्ती सोनारी सहकारी समन्वय समितिले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष मनिषा सिंह थारु, विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, साथै जिल्ला सहकारी संघ बाँकेका सञ्चालक सदस्यहरू उपस्थित थिए।
राप्ती सोनारीका सहकारीहरूले हरेक वर्ष दुईपटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यसले जीवन रक्षा अभियानलाई निरन्तरता दिने र स्थानीय समुदायमा सामाजिक उत्तरदायित्व र मानवताप्रति योगदानको मूल्य बढाउने विश्वास गरिएको छ।

नेपाल रेड क्रस सोसाइटीको तर्फबाट खजुरा रक्तसञ्चार केन्द्रका प्रमुख होमराज गिरी, कोहलपुर रक्तसञ्चार केन्द्रका प्रमुख राजेन्द्र महत्तरा, सडक रक्तदाता पवन जयसवाल, प्राविधिकहरू सन्दीप आचार्य, महेश राणा, निर्मला सिंह चौधरी, ओम प्रकाश गोडिया र वीरेन्द्र योगीले प्राविधिक सहायता प्रदान गरेका थिए।

रक्तदानमा सहभागिता र सहकारी अभियानको उत्साहपूर्ण योगदानले राप्ती सोनारीलाई न केवल प्रथम स्थानमा पुर्याएको छ, तर जीवन बचाउने अभियानलाई पनि नयाँ ऊर्जा प्रदान गरेको छ। यसले बाँके जिल्लामा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply