रिलिशा राजवंशी, वैशाख २६
बाँके – लुम्बिनी प्रदेश अन्तर्गत को वडा नं. ४ धामपुरमा ग्वारया डबरगैया समुदायको चौथो गोत्यार सम्मेलन भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। समुदायभित्र एकता, संस्कृति संरक्षण, परम्परागत मूल्य-मान्यता तथा नीति- नियमलाई पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलनले समुदायका सबै वर्गलाई एकै ठाउँमा जोड्ने काम गरेको सहभागीहरूले बताएका छन्।

समुदायको मौलिक पहिचान, संस्कार र आपसी सद्भावलाई सुदृढ बनाउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा अग्रज व्यक्तित्व, बुद्धिजीवी, युवा, विद्यार्थी, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनस्थल पारम्परिक झाँकी, सांस्कृतिक सजावट तथा समुदायको मौलिक पहिचान झल्काउने सामग्रीले सजाइएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो।

कार्यक्रमको उद्घोषण ग्वारया डबरगैया समुदायकै सदस्य तथा का प्रधानाध्यापक कमेश कुमार चौधरीले गर्नुभएको थियो। उहाँको सरल, प्रभावकारी तथा प्रेरणादायी सञ्चालन शैलीले कार्यक्रममा सहभागीहरूलाई उत्साहित बनाएको थियो। कार्यक्रममा वक्ताहरूले समुदायभित्र शिक्षा, सामाजिक एकता र सांस्कृतिक चेतनाको विकासमा यस्ता सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए।
सम्मेलनबाट बच्चुलाल चौधरी अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा नीला चौधरी, सचिवमा दिपक चौधरी, कोषाध्यक्षमा बसन्ती चौधरी तथा सदस्यहरूमा वेदप्रसाद चौधरी र गीत राम चौधरी चयन हुनुभएको थियो। त्यस्तै, समुदायका अग्रज व्यक्तित्वहरू गोविन्द चौधरी, रिमबहादुर चौधरी तथा गेटबहादुर चौधरीलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको थियो। आर्थिक व्यवस्थापन तथा कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन वीरेन्द्र चौधरी र कलवीर चौधरीलाई आर्थिक संयोजकको भूमिका दिइएको थियो।

सम्मेलनमा समुदायको धार्मिक तथा सांस्कृतिक पक्षलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले विशेष पुस्तक सार्वजनिक गरिएको जानकारी दिइयो। उक्त पुस्तकमा गोत्यार समुदायको पूजा-पद्धति, भगवानको आराधना गर्ने विधि, धार्मिक आस्था, संस्कार तथा नीति–नियमलाई समेटिएको आयोजकले बताएका छन्। समुदायका युवा पुस्ताले आफ्ना परम्परा र संस्कृतिलाई सहज रूपमा बुझ्न तथा सिक्न सकून् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जनाइएको छ।

त्यसैगरी, समुदायको इतिहास, पहिचान, सांस्कृतिक मूल्य तथा सामाजिक योगदान झल्किने विशेष भित्तेपात्रो पनि सार्वजनिक गरिएको थियो। भित्तेपात्रोमा समुदायका ऐतिहासिक पक्ष, धार्मिक मान्यता तथा सामाजिक गतिविधिहरू समेटिएको थियो। यसले विशेषगरी विद्यार्थी तथा युवापुस्तामा छुट्टै उत्साह र जिज्ञासा थपेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागी सम्पूर्ण गोत्यारहरू आफ्नै मौलिक भेषभूषा तथा पारम्परिक पोशाकमा उपस्थित हुँदा सम्मेलन सांस्कृतिक रंगले अझ सुसज्जित बनेको थियो। महिलाहरू परम्परागत गहनामा सजिएका थिए भने युवापुस्ता पनि आफ्नो मौलिक पहिचानप्रति गर्व गर्दै कार्यक्रममा सहभागी भएका देखिन्थे। कार्यक्रममा प्रस्तुत सांस्कृतिक झाँकी, पारम्परिक शैली तथा आपसी सद्भावले समुदायको एकता र पहिचानलाई थप मजबुत बनाएको उपस्थितहरूको भनाइ थियो।
सम्मेलनका क्रममा सल्लाहकार रिमबहादुर चौधरीले आगामी दिनमा “गोत्यार सम्मेलन” शब्दको सट्टा “मेलमिलाप” शब्द प्रयोग गरिने धारणा व्यक्त गर्नुभयो। उहाँले “मेलमिलाप” शब्दले समुदायभित्रको आत्मीयता, भाइचारा, सहकार्य तथा पारस्परिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदायको पहिचान जोगाउन सबैले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ पुस्तालाई संस्कार र परम्परासँग जोडिराख्न यस्ता कार्यक्रम निरन्तर गरिनुपर्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले यस्ता सम्मेलनले समुदायबीचको सम्बन्धलाई अझ नजिक बनाउने, युवापुस्तामा सकारात्मक सोच विकास गर्ने तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। सम्मेलनले ग्वारया डबरगैया समुदायभित्र नयाँ ऊर्जा, उत्साह र एकताको भावना थपिएको सहभागीहरूको भनाइ थियो।
समापन समारोहमा आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेको थियो। समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उन्नयनका लागि आगामी दिनमा अझ व्यवस्थित र व्यापक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

