भन्सार चोरीछली तस्करी एवं समाजिक विकृती बेथिति बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको कञ्चनपुर प्रहरीको एक्सन जुवाखालतिर पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तिहारका बेला हुनसक्ने जुवातास जस्ता गैर कानुनी गतिबिधी नियन्त्रणका लागि एक्सन गरिरहेको छ ।
प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरिया र भीमदत्त नगरपालिका-१९ बागफाँटाबाट दर्जनौँ जुवाडे सहित लाखौँ रुपैयमा बरामद गरेको छ ।
गुलरियाका दिनेश पनेरुले संचालन गरेको त्रिपुरा मदिरा बिक्रि केन्द्रबाट जुवाखाल खेलिरहेको अवस्थामा १५ जुवाडे सहित उनीहरुको साथबाट २ लाख, ७७ हजार ५०५ रुपैया बरामद गरेको छ । प्रदेश र स्थानीय प्रहरीले गुलरियाबाट जुवाडे पक्राउ गरेकै राती जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका-१९ बागफाँटाका मिठु रानाको घर पछाडी भईरहेको टहरामा जुवाखेलिरहेका १० जुवाडे पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले गोप्य सुचनाका आधारमा प्रहरी टोलीले जुवाखालबाट १ लाख ५४ हजार नगद सहित ४ गड्डी तास बरामद गरेको बताए । सुचना अधिकारी पन्तका अनुसार जय बहादुर महरा, सागर विष्ट, दाना राना, शेर बहादुर कुँवर, हिरु राना, प्रकास भट्ट, तिलक बैज, प्रकास पनेरु, कैला राना, प्रकाश चन्दलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बागफाँटाबाट पक्राउ परेका जुवा खेलाडीको नाम सार्वजनिक गरेपनि प्रदेश प्रहरीले गुलरियाबाट पक्राउ गरेका जुवाडेका नाम सार्वजनिक गरेको छैन ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाले चोरीतस्करी, गैर कानुनी गतिबिधी बिरुद्धमा सकृय भएर कर्तव्य निर्वाह गर्न मातहतका प्रहरी अधिकृत, कर्मचारी यूनियनलाई स्पष्ट निर्देशन दिएका छन् ।
