हेमा भट्ट, फागुन २८
कञ्चनपुर — पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको से १ ज १४०५ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाका अनुसार दुर्घटनामा परी भीमदत्त नगरपालिका–१ बारकुण्डा धर्मपुरका ४० वर्षीय राम लुहार र मोटरसाइकलमा पछाडि सवार दानसिंह धामीको मृत्यु भएको हो।
दुर्घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी चालकहरूलाई राजमार्गमा सावधानीपूर्वक गाडी चलाउन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
