कञ्चनपुरमा लागूऔषधविरुद्ध कडा प्रहार — खैरो हेरोइनसहित ३ जना पक्राउ, प्रहरीको सक्रियता निरन्तर

हेमा भट्ट, वैशाख १७
कञ्चनपुर — समाजलाई विषाक्त बनाउँदै गएको लागूऔषधविरुद्ध कञ्चनपुर प्रहरीले निरन्तर कडाइ गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। पछिल्लो समय खैरो हेरोइनसहित तीन जना पक्राउ पर्नु यसैको स्पष्ट उदाहरण हो।

मिति २०८३/०१/०१ गते लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१० भन्सार ब्यारेल क्षेत्रमा विशेष चेकजाँच सञ्चालन गरेको थियो। सो क्रममा भारतिय नम्बर प्लेट UK03TA7727 को कार रोकी सूक्ष्म जाँच गर्दा भीमदत्त नगरपालिका–११ बडैपुरका रबिन बिष्टको साथबाट लुकाई–छिपाई राखिएको ५.०६ ग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यसैगरी, मिति २०८३/०१/१६ गते इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले बेलडाँडी गाउँपालिका–५ क्याम्प चेकपोष्टमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई जाँच गर्दा थप लागूऔषध फेला पारेको छ। कृष्णपुर नगरपालिका–२ वाणीका मनिस थापा र बेलडाँडी–५ झिल्मिलाका मनोज खड्काको साथबाट २.६०० ग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको हो। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसारपसार हुने जोखिम बढ्दै गएकाले निगरानी अझ कडा पारिएको छ। नियमित चेकजाँच, गोप्य सूचनाको प्रभावकारी प्रयोग र विभिन्न सुरक्षा निकायबीचको समन्वयले यस्ता कारबाही सम्भव भएको जनाइएको छ।

स्थानीय स्तरमा पनि लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने प्रयास तीव्र बनाइएको छ। प्रहरी मात्र होइन, समुदाय, अभिभावक र युवाहरूको सक्रिय सहभागिता बिना यस्तो समस्या पूर्णरूपमा नियन्त्रण गर्न कठिन हुने भएकाले सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

लागूऔषध केवल कानुनी अपराध मात्र नभई सामाजिक र पारिवारिक विघटनको मुख्य कारण पनि हो। यसको दुष्प्रभावले युवापुस्ता मात्र होइन, सम्पूर्ण समाजलाई असर पार्ने भएकाले समयमै सचेत हुनु आवश्यक छ।

“लागूऔषधको दुर्व्यसनबाट आफू पनि जोगिऔँ, अरूलाई पनि जोगाऔँ — सुरक्षित समाज निर्माणमा सबैको हातेमालो अपरिहार्य छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply