प्रदेश प्रमुख मियाँ : सुदूरपश्चिम सम्भावनाको भण्डार, नकारात्मक धारणा त्याग्न आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमलाई प्राकृतिक, आर्थिक, सामाजिक र मानवीय स्रोतसाधनले भरिपूर्ण “सम्भावनाको खानी” का रूपमा चित्रण गर्दै यहाँका सम्भावनालाई सही रूपमा उपयोग गर्न सके प्रदेशले उल्लेखनीय प्रगति गर्न सक्ने बताएका छन् ।

नेपाल वितरक महासङ्घको १४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले “सुदूरपश्चिममा सम्भावना नै छैन भन्ने धारणा गलत हो, यो बुझाइ दुर्भाग्यपूर्ण छ” भन्दै नकारात्मक सोच हटाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश वन–जङ्गल, कृषि उत्पादन, जलस्रोत, धार्मिक सम्पदा र पर्यटनका हिसाबले अत्यन्तै धनी क्षेत्र हो, तर ती स्रोतहरूको प्रभावकारी उपयोग अझै हुन नसकेको स्वीकार गर्नुपर्ने अवस्था छ । उनले लगानीमैत्री वातावरण निर्माण गर्न सके प्रदेशले आत्मनिर्भर अर्थतन्त्रतर्फ ठोस प्रगति गर्न सक्ने बताए ।

प्रदेश प्रमुख मियाँले नेपाललाई विगतमा भारतसँग तुलना गरेर निराशा फैलाउने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले कतिपयले विकसित मुलुकहरूसँग तुलना गरेर पनि नकारात्मक धारणा सिर्जना गरिरहेको बताए । उनले यस्तो मानसिकता विकास र आत्मविश्वास दुवैका लागि हानिकारक हुने उल्लेख गरे ।

उनले नेपालले छोटो समयमै शिक्षा, स्वास्थ्य, पूर्वाधार र सञ्चार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै “भएका कामभन्दा नभएका कामलाई बढी प्रचार गर्ने प्रवृत्ति” रोक्नुपर्ने धारणा राखे ।

युवाहरू विदेशिने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले कक्षा १२ पछि ठूलो संख्यामा युवाहरू विदेश जानु दीर्घकालीन विकासका लागि चुनौतीपूर्ण भएको बताए । उनले स्वदेशमै रोजगारी सिर्जना र लगानीको वातावरण बनाउन राज्य, निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले संघीय सरकारबाट अपेक्षाअनुसार बजेट विनियोजन नहुँदा प्रदेश विकास योजनाहरू प्रभावित भएको बताए । आवश्यक लगानी अभावका कारण सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य मजबुत भए मात्रै आर्थिक गतिविधि विस्तार हुन सक्ने धारणा राखे ।

नेपाल वितरक महासङ्घका वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्य, निवर्तमान अध्यक्ष हरिराज पन्त, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवर, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझालगायत वक्ताहरूले व्यापार, लगानी वातावरण र बजार व्यवस्थापन सुधारको आवश्यकता औंल्याए ।

महासङ्घका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरका वितरक व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमको आर्थिक सम्भावना, लगानी विस्तार, आपूर्ति व्यवस्थापन र निजी क्षेत्रको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply