हेमा भट्ट, बैशाख १६
कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइहरूले मिति २०८३ साल बैशाख ८ गतेदेखि बैशाख १४ गतेसम्म सञ्चालन गरेको विशेष “स्विप अपरेशन” उल्लेखनीय रूपमा सफल भएको छ। शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यसहित गरिएको उक्त अभियानमा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह भएको प्रहरीले जनाएको छ।
एक हप्ते अभियान अवधिमा विभिन्न २२ वटा मुद्दा दर्ता गरिएका छन् भने कुल ३४ जनालाई कानुनी दायरामा ल्याइएको छ। प्रहरीले दिएको विवरण अनुसार अभद्र व्यवहारका ५ वटा मुद्दामा ७ जना, कर्तव्य ज्यान सम्बन्धी १ मुद्दामा ३ जना, बहुविवाह मुद्दामा २ जना र चोरीका २ वटा मुद्दामा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। त्यस्तै ज्यान मार्ने उद्योगमा २ जना र औषधि सम्बन्धी ११ वटा मुद्दामा १ जना पक्राउ गरिएको छ।
यसैबीच, लागूऔषध नियन्त्रणतर्फ प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। ७३.३८ ग्राम खैरो हिरोइन, ३१.१० ग्राम चरेश तथा बुप्रेनोफिन हाइड्रोक्लोराइडका २१ थान एम्पुलसहित १८ जनालाई पक्राउ गरिएको छ भने एक जना बिचौलियालाई समेत नियन्त्रणमा लिइएको छ। यसले लागूऔषध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियता प्रष्ट देखाएको छ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले तीव्रता दिएको छ। विभिन्न मुद्दामा फरार रहेका ५ जनालाई पक्राउ गरी १३ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३ लाख १३ हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।
अभियानको क्रममा केवल पक्राउ मात्र नभई सचेतनामूलक कार्यमा पनि जोड दिइएको छ। रातिको समयमा शान्ति भंग गर्ने गतिविधिमा संलग्न २२ जनालाई सोधपुछपछि जिम्मा लगाइएको छ भने १९ जनालाई डागडा (हुलहुज्जत) जस्ता गतिविधिबाट टाढा रहन सम्झाइ–बुझाइ गरिएको छ। त्यस्तै मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी चलाउने २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि छोडिएको छ। लागूऔषध दुव्र्यसनमा संलग्न २ जनालाई सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।
समग्रमा, अभियान अवधिमा ७९ जना व्यक्तिहरू प्रहरी नियन्त्रणमा लिइएका छन्। जसमध्ये ३४ जनाविरुद्ध मुद्दा चलाइएको छ भने बाँकी ४५ जनालाई सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस्ता अभियानलाई निरन्तरता दिँदै समाजमा अपराध न्यूनीकरण, कानुनी शासनको प्रत्याभूति र नागरिक सुरक्षामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीयवासीले समेत प्रहरीको यस सक्रियतालाई सकारात्मक रूपमा लिँदै शान्त र सुरक्षित समाज निर्माणमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

