बालविवाह अन्त्यका लागि बैतडीका धार्मिक गुरु सक्रिय

बालविवाह अन्त्यका लागि बैतडीका धार्मिक गुरु सक्रिय भएका छन् । सोमबार दोगडाकेदार गाउँपालिका कार्यालयमा यूएनएफपीएको सहयोगमा भीएसओ र पिसविनको साझेदारीमा आयोजना गरिएको धार्मिक गुरूहरूसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बालविवाह अन्त्यका लागि आफूहरू सक्रिय रहेको बताएका हुन् ।

उमेर नपुग्दै बिहे गर्नुपर्छ भन्ने गलत चलन रहेको यसको अन्त्यका लागि लागिरहेका ज्योतीस नन्दराज भट्टले बताए । बिहे गर्ने उमेर नपुगेका किशोरकिशोरीको चिना समेत हेर्ने नगरेको भट्टको भनाई छ । उनले भने, ‘हामीलाई केही महिना अगाडि पिसविन संस्थाले बालविवाह अन्त्य सम्वन्धि तालिम दिएको थियो त्यसपछि २० वर्ष नपुगेका भए चिना नहेर्ने र जुराउने काम बन्द गरेका छौं । त्यो तालिमले धेरै कुराको सिकाई पनि भयो ।’

पछिल्लो समय २० वर्ष पुगेपछि मात्रै बिहे गर्नुपर्छ भन्ने कुरामा अभिभावक पनि सहमत हुने गरेका कार्यक्रममा सहभागी धामी हरि सिंह कार्कीले बताए । उनले भने, ‘महिनावारी नहुदै छोरीको विवाह गरिदिदा पुण्य कमाइन्छ भन्ने गलत मान्यताका कारण यसअघि बालविवाह हुँदै आएकोमा अब भने त्यो मान्यता हट्दै गएको छ ।’
२० वर्ष नपुग्दै बिहे गर्नुपर्छ भन्ने कुनै शास्त्रीय मान्यता नरहेको सहभागी टेकबहादुर चन्दले बताए । उनले भने ‘कुनै पुराण र शास्त्रमा सानैमा बिहे गर्नुपर्छ भन्नेछैन्, तर हाम्रो समाजमा गलत पुष्टि गर्दै बिहे हुने गरेका थिए। अहिले भने कम हुँदै गएका छन् ।’
बालविवाहले शारीरिक र मानसिक समस्या देखा पर्ने भएकाले बालबिवाह अन्त्य गर्नुपर्नेमा दोगडाकेदार गाउँपालिकाका प्रवक्ता,दिनेशप्रसाद भट्टले बताए । उनले भने, ‘सानै उमेरमा बिवाह गर्दै शारीरिक,मानसिक,शैक्षिक अवस्था कमजोर हुनुका साथै विभिन्न हिंसाका घटना हुने गरेका छन् । त्यसैले बालविवाह अन्त्य हुन आवश्यक छ ।’
धामीझाँक्री, ज्योतिस तथा धार्मिक गुरु बालविवाह अन्त्यका लागि सक्रिय रहेका दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए । उनले भने, ‘ पालिकाले पनि बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसमा धामीझाँक्री, ज्योतिस तथा धार्मिक गुरु पनि सक्रिय रहेका छन् ।’ बालविवाह न्यूनीकरण परियोजना बैतडीका ७ स्थानीय तहमा सञ्चालन हुँदै आएको पिसविन संस्थाका परियोजना अधिकृत कृष्णदत्त भट्टले बताए । परियोजना अन्तरगत किशोरकिशोरीका लागि रूपान्तरण कक्षा, अभिभावकलाई तालिम,धामीझाँक्री, ज्योतिस,धार्मिक गुरुसंगको अन्तरक्रिया गर्ने गरिएको छ । यसका साथै बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply