एकल महिलाको संख्या करिब १० लाख, कस्तो छ आर्थिक अवस्था?

१७ मङ्सिर धनगढी
नेपालमा एकल महिलाको जनसंख्या करिब १० लाख पुगेको छ।

३५ वर्ष वा सो भन्दा माथिको विवाह नगरेका महिला, विधवा, सम्बन्ध विच्छेद र भिन्न भएर बसेका (३५ वर्ष वा सो भन्दा माथिका महिला)लाई एक महिलाको सूचीमा राखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को जनगणनामा आधारित भएर निकालेको विस्तृत प्रतिवेदन अनुसार नेपालमा एकल महिलाको जनसंख्या करिब १० लाख पुगेको देखाएको हो।

पछिल्लो दुई दशकमा एकल महिलाको जनसंख्यामा उल्लेख्य बढेको छ। २०५८ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेको थियो। २० वर्षमा करिब दोब्बरले बढेर ६.६ प्रतिशत पुगेको छ।

३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत मात्र थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको छ।

एकल महिलाहरूमध्ये सबैभन्दा धेरै विधवा महिलाको जनसंख्या छ। ७४ लाख ९९ हजार महिला जनसंख्यामध्ये ८ लाख २६ हजार विधवा रहेका छन्। त्यस्तै २१ हजार २८७ जना सम्बन्ध विच्छेद भएर बसेका छन्। ५९ हजार ५३५ छुट्टिएर बसेका छन्। त्यस्तै ९० हजार ७०३ जनाले विवाह नगरी बसेका छन्।

दक्षिण एसियाली राष्ट्रहरूमा माल्दिभ्सपछि सबैभन्दा कम विधवा भएको देशमा नेपाल देखिएको छ।

नेपालमा विधवा महिलाको जनसंख्या ४.६ प्रतिशत छ भने माल्दिभ्समा १.१७ प्रतिशत छ। सबैभन्दा धेरै जनसंख्या भने अफगानस्तानमा २१.३ प्रतिशत यस्तो महिला जनसंख्या छ। भारतमा ९.१, श्रीलङ्कामा ६.६, पाकिस्तानमा ५.७ र भुटानमा ५.२ प्रतिशत यस्तो जनसंख्या रहेको छ। यो भनेको कुल विवाहित महिलामध्ये श्रीमानको मृत्युपछि विवाह नगरी बसेका महिलाको जनसंख्या हो।

तथ्यांक कार्यालयको सर्वेक्षण प्रतिवेदन अनुसार घरमा एक्लै बस्ने एकल महिलाको संख्या उल्लेखनीय बढेको छ र यो निरन्तर बढ्दो देखिएको छ।

सन् २००१ मा १६ हजार ६१५ जना एकल महिला घरमा एक्लै बस्ने गरेका थिए। त्यस्तै २०११ मा एक लाख ३९ हजार ६५८ जना पुगेका थिए। सन् २०२१ मा आइपुग्दा भने दुई लाख ११ हजार ५५० पुगेका छन्।

एकल महिलाहरूमध्ये सम्बन्ध विच्छेद गरेका महिलाको साक्षरतादर सबैभन्दा बढी देखिएको छ। सम्बन्ध विच्छेद गरेका ६८.९ प्रतिशत महिला साक्षर छन्। २०५८ सालमा यस्ता महिलाको साक्षरतादर २३.१ प्रतिशत थियो। २०६८ सालमा ४४.६ प्रतिशत पुगेको थियो।

विधवा महिलाहरूका साक्षरतादर १८.९ प्रतिशत मात्रै छ। यस्तो प्रतिशत २०५८ मा ६.९ र २०६८ मा ११ प्रतिशत रहेको थियो।

छुट्टिएर बसेका महिलाको साक्षरतादर ५० प्रतिशत र अविवाहित महिलाको साक्षरता दर ५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका उप-प्रमुख तथ्यांक अधिकारी विधवाको जनसंख्या धेरै देखिएको भन्दै उनीहरूको लागि साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्‍यक रहेको बताए।

‘विधवा महिलाहरूको लागि साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्‍यक देखिन्छ, नीतिगत एकीकरणमार्फत विधवा महिलाका लागि विशेष सामाजिक सुरक्षा योजना सञ्चालन गर्नुपर्छ,’ रेग्मीले भने।

एकल महिलाको आर्थिक अवस्था कस्तो छ?

जनगणना २०७८ को नतिजाको आधारमा परिवारहरूलाई सम्पन्नताको पाँच वर्गमा (न्यूनतम, निम्न, मध्यम, उच्च र उच्चतम) मा वर्गीकृत गरिएको छ। विधवा महिला जनसंख्या मध्ये ठूलो हिस्सा (२२.५%) सबैभन्दा कम सम्पन्नता भएको वर्गमा परेको छ। यसले विधवा महिला बढी मात्रामा आर्थिक रूपमा कमजोर रहेको देखाएको छ।

सम्बन्ध विच्छेद भएका महिलामध्ये १४ प्रतिशत मात्रै सबैभन्दा न्यून सम्पन्नताको वर्गमा र २७ प्रतिशतभन्दा बढी उच्च सम्पन्नताको वर्गमा परेका छन्। ३५ वर्ष वा सोभन्दा माथिका कहिल्यै विवाह नगरेका अविवाहित महिलाहरूको उच्च अनुपात ३१.३ प्रतिशत देखिएको छ।

विधवा महिलामध्ये ५२ प्रतिशत आर्थिक रूपमा निष्क्रिय देखिएका छन्। २४.६ प्रतिशत रोजगार रहेका छन्।

सम्बन्ध विच्छेद गरेका महिलाहरूमा ५३ प्रतिशत रोजगार भएका छन्। छुट्टिएर बसेका महिलामध्ये ५२ र अविवाहित महिलामध्ये ४१ प्रतिशतसँग रोजगारी रहेको देखाएको छ।

विधवा महिला भएका घरपरिवारमध्ये २३.४ प्रतिशत घरपरिवारका घर र जमिन महिलाको स्वामित्वमा छ। प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी ३०.९ प्रतिशत र बागमतीमा २६.२ प्रतिशत, सबैभन्दा बढी घर र जमिन महिलाको स्वामित्वमा रहेको छ।

सबैभन्दा कम सुदूरपश्चिममा १२.३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply