जो अमेरिकामा चलाइरहेका छन् तेक्वान्दो स्कुल (भिडिओसहित)

सीताराम कोइराला
धनगढी, २१ माघ
दिवाकर महर्जन सन् १९९४ मा पहिलोपटक अमेरिका गएका थिए।

नेपाली तेक्वान्दोका संस्थापक जेके सिनको निम्तोमा दिवाकर प्रशिक्षकका रूपमा ओरेगन राज्यको पोर्टल्यान्ड पुगेका थिए। अमेरिका पुगेपछि दिवाकरले केही महिना जेके सिनको तेक्वान्दो स्कुल (डोजाङ) मा काम गरे।

सन् १९९५ मा उनले पोर्टल्यान्डमा ‘युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउड’ नाममा आफ्नै तेक्वान्दो स्कुल स्थापना गरे। यो स्कुलले यस वर्ष आफ्नो ३० औं वर्षगाँठ मनाउँदैछ।

तीन दशक अवधिमा दिवाकरले पाँच हजार जनाभन्दा बढीलाई तेक्वान्दो सिकाइसकेका छन्। अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपालीका रूपमा दिवाकरको यो क्षेत्रमा राम्रै प्रभाव छ। ओलम्पिक खेल तेक्वान्दोका उच्च श्रेणीका प्रशिक्षक (आठौं डान) दिवाकर तेक्वान्दोको उच्च स्तरका निर्णायक ‘सुपर क्लास रेफ्री’ पनि हुन्।

अमेरिका पुगेपछि, आफ्नो मनपर्ने विधामा सफल भएका दिवाकरको बाल्यकाल ललितपुरमा बितेको थियो।

‘मैले तेक्वान्दो सिक्दा देशको अवस्था सहज थिएन। तत्कालीन सरकारले मार्सल आर्ट्स खेललाई राम्रो दृष्टिकोणले नहेरेको कारण लुकेर सिकेको थिएँ,’ उनले भने।

जब नेपालमा औपचारिक रूपमा तेक्वान्दो विकास हुन थाल्यो, तब उनले खुलेर सिक्न पाए।

दक्षिण कोरियाका चिफ ग्रान्ड मास्टर जेके सिनले सिकाउन थालेपछि नेपालमा तेक्वान्दो विकास हुन थाल्यो। सन् १९८२ मा नेपाल भ्रमणमा आएका सिनले तेक्वान्दो भित्र्याउँदै धेरै खेलाडी उत्पादन गरे, जसमध्ये दिवाकर एक हुन्।

दिवाकरले धेरै प्रतियोगितामा भाग लिन नपाए पनि युवा अवस्थामा तेक्वान्दो सिकाउन थालेका थिए। सन् १९८६ मा उनले दशरथ रंगशालामा सिकाउन थाले। त्यसपछि राष्ट्रिय खेलकुद परिषदमा जागिर पाए।

यसपछि उनलाई महाकाली अञ्चल पठाइएको थियो। उनले कञ्चनपुर, डडेलधुरा लगायत जिल्लामा तेक्वान्दो सिकाए।

उनले पाटनमा मैत्री तेक्वान्दो डोजाङ स्थापना गरे जसले अहिले पनि खेलाडी उत्पादन गरिरहेको छ। २०५० सालमा दर्ता भएको यो डोजाङले सिकाउन भने यसअघि नै थालेको थियो।

‘हेपिएको खेल र तत्कालीन नेतृत्वको नजरियाका कारण मलाई नराम्रो लागिरहेको थियो। भविष्यको चिन्ताले पिरोलिरहेको थियो,’ दिवाकरले भने, ‘भाग्यवश त्यही बेला अमेरिकामा प्रशिक्षणका लागि जेके सिनको चिठी आयो।’

सिन दिवाकरलाई मन पराउँथे। दिवाकरले आफ्नै डोजाङ खोलेपछि सिन अझ प्रभावित भएका थिए।

यसरी अमेरिका पुगेर दिवाकरले सिनको डोजाङमा केही महिना तेक्वान्दो सिकाए। सबैले उनको प्रशिक्षण मन पराए।

आफ्नै तेक्वान्दो स्कुल खोलेपछि, उनले एउटा परिवारलाई प्रशिक्षण दिएर काम सुरू गरे। केही समयपछि ५० जना प्रशिक्षार्थी भए। उनको स्कुलको प्रसिद्धि बढ्न थाल्यो।

अमेरिकामा भाषादेखि लिएर प्रणाली बुझ्न धेरै कठिनाइ भए पनि उनको स्कुल बिस्तारै लोकप्रिय भयो। उनका प्रशिक्षार्थीले विभिन्न प्रतियोगितामा जित्न थाले। दिवाकरले नाम र दाम दुवै कमाए।

अहिले दिवाकरको स्कुल आफ्नै भवनमा छ। उनले अमेरिकी तेक्वान्दोसँग पनि सम्बन्ध विस्तार गरेका छन्। बेइजिङ ओलम्पिक २००८ को अमेरिकाको तेक्वान्दो प्रशिक्षणको क्याम्पमा उनलाई पनि सहभागी गराइएको थियो। अहिले पनि अमेरिकाका अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षकलाई उनी आफ्नो अनुभव साट्छन्।

उनका अधिकांश प्रशिक्षार्थी अमेरिकी छन्। दैनिक सात वटा सेसनमा विभिन्न उमेर समूहका खेलाडी हुन्छन्। सिजन (स्कुल/कलेज बिदा) मा दैनिक ३ सय जनासम्म हुन्छन्। दिवाकर, उनकी श्रीमती मिनु र अरू तीन जनाले प्रशिक्षण दिन्छन्।

‘सुरूको पहिलो साता निःशुल्क प्रशिक्षण दिइन्छ। त्यसपछि अनुभव सोधेर, प्रशिक्षार्थीको सन्तुष्टिका आधारमा मात्र भर्ना गरिन्छ,’ दिवाकरले भने।

अन्तर्राष्ट्रिय तेक्वान्दोको ‘सुपर क्लास’ (उच्च श्रेणी) का निर्णायक बन्ने पहिलो नेपाली हुन् दिवाकर। दुई वर्षअघि मात्र उनी फर्स्ट क्लासबाट सुपर क्लास निर्णायकमा बढुवा भएका हुन्।

दिवाकरले दुई दशकको निर्णायकको करिअरमा विभिन्न चरण पार गर्दै यो सफलता हासिल गरेका हुन्।

सन् १९९९ मा क्यानडाबाट अन्तर्राष्ट्रिय निर्णायक बनेका दिवाकरलाई सुपर क्लासको निर्णायक बन्न २४ वर्ष लाग्यो। यसबीच उनी निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बने। संसारका दर्जनौं देशहरूमा पुगे।

युएस ओपन जस्ता ठूला प्रतियोगितामा उनी बारम्बार निर्णायक बने। ओसियाना, अस्ट्रेलिया र ब्राजिल जस्ता देशका प्रतियोगितामा पनि निर्णायक भए।

‘सुपर क्लास रेफ्री कमै हुन्छन्। यो श्रेणीमा पुग्न मैले निकै मेहनत गरेँ,’ उनले भने, ‘यसका लागि लगनशीलता, निरन्तरता र समय दिनु आवश्यक छ। आत्मविश्वास र आर्थिक पक्ष पनि जोडिएको हुन्छ। किनभने कतिपय देशमा भने आफूले खर्च गरेर यात्रा गर्नुपर्ने हुन्छ।’

विभिन्न स्थानमा निर्णायकको भूमिका निर्वाह गरेपछि अंक जोडिँदै जान्छ। त्यसपछि दोस्रो, पहिलो हुँदै सुपर क्लासको निर्णायक हुन सकिन्छ।

उनी तेक्वान्दोका आठौं डान हुन्। यो उपाधि पाउने नेपालीहरू औंलामा गन्न सकिने छन्। सन् १९८६ मा पहिलो डान लिएका उनले दुई वर्षअघि आठौं डानको उपाधि पाएका हुन्।

तेक्वान्दोको स्तर मापन गर्ने डान पाउन सजिलो छैन। विभिन्न परीक्षा पास गरेपछि विश्व तेक्वान्दोले यो प्रमाणपत्र दिन्छ। आठौं डानको परीक्षा दक्षिण कोरियामा रहेको तेक्वान्दोको प्रधान कार्यालय कुकिवानमा दिनुपर्छ।

‘आठौं डान लिन धुँवा निक्लिन्छ भनिन्छ,’ दिवाकरले भने, ‘विश्व तेक्वान्दोको ठूलो हलमा सबैका अगाडि एक एक गरेर लिएको परीक्षा दिएको हुँ। यसमा सफल हुँदा निकै गर्व लाग्छ। मैले हप्किडोको पनि आठौं डानको परीक्षा दिएको थिएँ। त्यसमा पनि सफल भएँ।’

दिवाकरले २५ वर्षयता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) गत अगस्टमा दक्षिण कोरियामा भएको थियो। अब अर्को संस्करण नेपालमा आयोजना गर्ने दिवाकरको लक्ष्य छ।

सन् २००० मा सुरू भएको आइओएफटिसीको पहिलो संस्करण पनि नेपालमा, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा (हाल संसद भवन) भएको थियो।

अमेरिकामा आधिकारिक रूपमा दर्ता भएको आइओएफटिसीमा दिवाकर निर्देशक छन्। अरू बोर्ड सदस्य अमेरिकी नै हुन्। उनले यो प्रतियोगितालाई गैरनाफामुखी बनाएका छन्।

‘सकेसम्म सबै खेलाडीलाई एक्सपोजर दिने उद्देश्य हो,’ दिवाकरले भने, ‘मार्सल आर्ट्स केबल फाइट खेल्ने मात्र हो भन्ने सोच हुन्छ। त्यसैले मित्रता र सम्मानको भावना जगाउन यो प्रतियोगिता गरेको हुँ। अमेरिका आएदेखि नै यस्तो कार्यक्रम गर्छु भन्ने सोच थियो। नेपालको पनि नाम रहन्छ भनेर सुरू गरेका हौं।’

नेपालमा भने प्रतियोगिताको आयोजनामा केही चुनौती सामना गर्नुपरेको छ। नेपाल तेक्वान्दो संघले पहिलो संस्करणदेखि नै यो प्रतियोगितालाई सकारात्मक दृष्टिकोणले नहेरेको उनको गुनासो छ। नेपालमा आयोजना भएको प्रतियोगिता नखेल्न खेलाडीहरूलाई संघले पत्र काटेको उनको भनाइ छ।

‘खेलाडीको खेल्न पाउने हकविरुद्ध काम गर्ने अधिकार कसैलाई छै। तर नेपालमा यस्तो काम पनि गर्छन्,’ दिवाकरले गुनासो गर्दै भने। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply