वैशाख १२ धनगढी
२०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ। त्यो कम्पनले लाखौं सपनाहरू भत्काएको थियो। कतिको छानो खोस्यो। कतिको हाँसो। कसैको आफन्त खोस्यो। अनि कतिलाई घाइते बनायो।
भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन्। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू।
अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए। उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो। यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो। तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ (भवन तथा आवास) तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ। एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन्। पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ (९२.४%)ले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ (८९.१%)ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन्।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले सरकारले उपलब्ध गराएको रु तीन लाख अनुदानले निजी आवास निर्माणको काम सम्पन्न नहुने र थप लगानीका लागि क्षमता नहुने सर्वसाधारणले ढिलो निर्माणकार्य थालनी गरेको जानकारी दिए। ‘थप लगानी जुटाउन सक्ने सर्र्वसाधरणले त छिट्टै घर निर्माणको काम सम्पन्न गरेका छन्। तर कतिपयले लगानीको अभावले समयमा घर निर्माण गर्न नसक्दा लामो समयसम्म निजी आवास निर्माणको काम सम्पन्न हुन सकेन,’ उनले भने, ‘भूकम्प गएको छ वर्षसम्म पनि लाभग्राही छनोटमा गुनासो बढिरहँदा ती गुनासो सम्बोधनका लागि पनि थप समय लागेको हो।’
