नेप्सेमा कस्तो छ एभरेस्ट र नेपाल बैंकको अवस्था?

वैशाख १५

कम्पनीहरूको वित्तीय विवरण प्रकाशनको क्रम चलिरहँदा नेप्से पनि सुधारको प्रयासमा देखिन थालेको छ।

सोमबार नेप्से परिसूचक ७.७३ अंकले सुधार भएर २७९६ विन्दुमा पुग्यो।

वाणिज्य बैंकहरूको समूहगत परिसूचक पनि १० अंकले बढेर १४५६ मा पुगेको छ।

सेयर बजारको सबैभन्दा ठूलो क्षेत्र वाणिज्य बैंकहरूको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरणमा सुधार देखिँदै जाँदा बजारमा सकारात्मक सञ्चार भएको हो।

अहिलेसम्म सानिमा बैंक, एभरेस्ट बैंक र नेपाल बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ।

सानिमा बैंकको हामीले आइतबार चर्चा गर्‍यौं।

अब हेरौं, एभरेस्ट बैंक र नेपाल बैंकको अवस्था।

तेस्रो त्रैमासमा एभरेस्ट बैंकको नाफा करिब ४ प्रतिशतले बढेर तीन अर्ब ३२ करोड रूपैयाँ पुगेको छ। यसको खुद ब्याज आम्दानी पनि करिब एक प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी ६ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ६ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ।

शुल्क, कमिसनबाट हुने आम्दानी, अन्य कारोबार (ट्रेडिङ) बाट हुने आम्दानी बढेपछि नाफामा सहयोग पुगेको हो। शुल्क, कमिसनबाट हुने आम्दानी ३३ प्रतिशतले बढेर एक अर्ब ४५ करोड रूपैयाँ पुगेको छ। त्यस्तै, ट्रेडिङबाट हुने आम्दानी ५५ प्रतिशतले बढेर ५९ करोड रूपैयाँ पुगेको छ।

Ncell
एभरेस्टले यसअघि २७ करोड रूपैयाँ प्रावधानमा राखेको थियो। यस पटक ७७ करोड रूपैयाँ राखेको छ। बैंकहरूमा न्यून खराब कर्जा रहँदै आएको एभरेस्टको यो दर थप घटेको छ।

यसअघि ०.६४ प्रतिशत रहेकामा हाल यस्तो कर्जा कुल कर्जाको ०.६१ प्रतिशत पुगेको छ।

यसको प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २४४ रूपैयाँ छ।

एभरेस्ट बैंकले करिब २९.४४ प्रतिशत बराबर लाभांश दिन सक्ने क्षमता देखाएको छ। १३ अर्ब ७२ करोड चुक्ता पुँजी रहेको एभरेस्टले चार अर्ब चार करोड रूपैयाँ लाभांश क्षमता देखिएको हो।

यसले विगत दुई वर्षमा वार्षिक औसत १७.७६ प्रतिशत बराबर लाभांश दिएको छ।

सोमबार विहान वित्तीय विवरण सार्वजनिक भएपछि यसको सेयर प्रतिकित्ता चार रूपैयाँ बढेर ६९८ रूपैयाँ पुगेको छ।

यसको मूल्य केही समयदेखि ६ सय रूपैयाँ माथि छ। करिब दुई वर्षअघि यसको मूल्य करिब आठ सय रूपैयाँसम्म पुगेको थियो।

वाणिज्य बैंकहरूमध्ये कम चुक्ता पुँजी हुनु, उच्च लाभांश क्षमता देखिनु र खराब कर्जा कम हुनुले पनि यसको मूल्य उच्च तहमै कायम छ।

त्यस्तै, नेपाल बैंकको तेस्रो त्रैमासमा नाफा सामान्य बढेको छ। दुई अर्ब ७८ करोड रूपैयाँबाट बढेर यो रकम दुई अर्ब ७९ करोड रूपैयाँ भएको छ।

खुद ब्याज आम्दानी पनि तीन प्रतिशतले बढेको छ। यस्तो आम्दानी सात अर्ब ३१ करोड रूपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र यसअघि राखिएको प्रावधान रकमबाट केही रकम फिर्ता ल्याएपछि नाफामा सहयोग पुगेको हो। अन्य सञ्चालन आम्दानी ६७ प्रतिशतले बढेर ५२ करोड रूपैयाँ पुगेको छ।

यसअघि २८ करोड रूपैयाँ प्रावधान राखेको नेपाल बैंकले यस पटक ३९ करोड रूपैयाँ फिर्ता (राइट ब्याक गरेको) ल्याएको छ। खराब कर्जामा पनि केही सुधार भएको छ। यसअघि ५.४५ प्रतिशत रहेको यस्तो खराब कर्जा घटेर ४.९६ प्रतिशत भएको छ।

यसको प्रतिसेयर आम्दानी २५ रूपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २७२ रूपैयाँ छ।

नेपाल बैंकले यो आर्थिक वर्षमा करिब २.९२ प्रतिशत बराबर लाभांश दिनसक्ने क्षमता देखाएको छ। गत वर्षको तेस्रो त्रैमासमा भने यस्तो क्षमता २.७८ प्रतिशत थियो।

यसले विगत दुई वर्षमा वार्षिक औसत १४.५ प्रतिशत बराबर लाभांश दिएको छ।

सोमबार बिहान वित्तीय विवरण सार्वजनिक भएपछि नेपाल बैंकको सेयर मूल्य बढेको छ।

सोमबार मूल्य दुई रूपैयाँले बढेर २७६ रूपैयाँमा अन्तिम कारोबार भएको छ।

केही समयदेखि यसको सेयर मूल्य २५० रूपैयाँदेखि ३०० रूपैयाँमा रहँदै आएको छ। केही वर्षअघि यसको मूल्य प्रतिकित्ता करिब पाँच सय ७५ रूपैयाँसम्म पुगेको थियो।

अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूको अवस्था सन्तोषजनक नै छ। तर आगामी दिनमा अन्य बैंकहरूको वित्तीय विवरण कस्तो आउँछ त्यसैमा यो समूहगत परिसूचकको गति निर्भर हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply