जागरण अभियानबाट अपेक्षा गरिएको भन्दा बढी उपलब्धी भयो : अध्यक्ष प्रचण्ड

वैशाख १७ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानबाट अपेक्षा गरेको भन्दा बढी उपलब्धी भएको बताएका छन् ।आज कञ्चनपुरमा आयोजित अभियान समापन कार्यक्रममा बोल्दै उनले जनताको साथ सोचेभन्दा बढी प्राप्त भएको बताए ।

उनले भने ‘हामीले अभियानमा सोचेभन्दा बढी साथ पाएका छौँ । अन्य राजनीतिक दलका जनप्रनिधिले पनि हामीलाई स्वागत सत्कार गरे । यो अभियानले देशमा केही हुन्छ कि भन्न उहाँहरुमा आशा जागेको पाइयो । अभियान माओवादीको मात्रै नभएर राष्ट्रिय अभियान बन्यो ।’

अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको बताउँदै उनले सबै नेपालीका लागि अभियान गर्वको कुरा बनेको बताए । उनले जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउँदै तराई–मधेसका जनताबाट निकै ठूलो साथ पाइएको बताए ।

उनले भने ‘हामी जनतासँगै बस्यौँ । उहाँहरुसँगै खायो । जनताका समस्या पीडा सुन्ने प्रयास ग¥यौँ । सहिद,बेपत्ता परिवारसँगको सम्बन्ध धनिष्ट बनाउने र उहाँहरुका पीडा सुन्ने प्रयास ग¥यौँ । अभियान समग्रमा सोचेभन्दा बढी सफल भएको छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले सुशासन,सामाजिक न्यायका पक्षमा काम गर्दा दलाल विचौलियालाई मन नपरेर सरकारबाट हटाउने काम भएको उल्लेख गरे ।

उनले भने ‘हामीले सरकारमा हुँदा राम्रा काम गर्न खोजेका थियौँ । दलाल विचौलियालाई मन परेन । हामीलाई बाहिर जान बाध्य पारियो ।’
अध्यक्ष दाहालले अभियान सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने ‘हामीलाई बसाई,खानपिन,सुरक्षामा नजिकबाट सहयोग गर्नुभएकोमा म सम्पूर्ण तराई–मधेसबासी जनसमुदायप्रति आभार प्रकट गर्दै र धन्यवाद दिन चाहान्छु ।’

हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान गत फागुन १२ गते झापाबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply