धनगढी २४ बैशाख
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क विशेषज्ञ वडास्वास्थ्य क्लिनिकबाट हालसम्म एक लाख २४ हजार बिरामीले निःशुल्क स्वास्थ्य जाँच गरेका छन् ।
उपमहानगरपालिकाले २०७९ साल साउनबाट सुरु गरेको सो सेवाबाट उनीहरुले स्वास्थ्य जाँच गरेका हुन् ।
आव २०७९/८० सालमा ४५ हजारले सेवा लिएका तथा गत आव २०८०/८१ मा ५० हजार बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर सहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिकका फोकल पर्शन कृष्ण बोहराले निशाना न्युजलाई जानकारी दिए ।
चालु आवको चैत मसान्तसम्म २९ हजार ३२७ जनाले सेवा लिएको उनले बताए । ‘चेकजाँच गर्न आउने बिरामीको आकर्षण बढेको छ’ उनले भने ‘वडा स्वास्थ्य क्लिनिकबाट नसर्ने रोग,गर्भवती जाँच,महिलाको पाठेघरको चेक जाँच,डाइबिटिज,क्यान्सर स्क्रिनिङ,ब्लड प्रेसरका बिरामीको चेकजाँच र उपचार गरिने गरेको छ ।’
उनले बुधबार वडा नं ३ मा स्वास्थ्य चेकजाँच भइरहेको बताए । उनले भने ‘यस वडामा अधिकतम ३ सय जनाले नियमित सेवा लिइरहेका छन । आज पनि सो रेसियोमा चेकजाँच हुन्छ ।’
आज दिउँसो १२ बजेसम्म १२७ जनाले स्वास्थ्य सेवा लिएको उनले बताए । बिहान १० बजे देखि २ बजेसम्म टिकट काटेर चेकजाँच गरिने गरेको उनको भनाइ छ । हरेक महिना प्रत्येक वडामा एक दिन क्लिनिक सञ्चालन हुने गरेको उनले बताए ।
वडा नं ३ चटकपुरका तेजराज भाटले आफूले निःशुल्क स्वास्थ्य चेकजाँच गराउन पाउँदा निकै खुशी भएको बताए । उनले धनगढी उपमहानगरपालिकाले गरेको यो काम निकै प्रशंसनीय रहेको बताए ।
उनले भने ‘यो धेरै राम्रो काम छ, यो सधै भइरहोस् भन्न म चाहान्छु ।’ वडा नं ३ कै नरेशबहादुर चन्दले स्वास्थ्य शिविर राम्रो र सह्रानीय भएको बताए । उनले भने ‘बाहिर अस्पताल जानु पर्ने बिरामीले यहीँ चेकजाँच गर्ने अवसर पाएका छन् । औषधी पनि निःशुल्क पाइरहेका छौँ । केही औषधी पाएका छनौँ ।त्यस्को व्यवस्थापन गर्न अनुरोध गर्दछु ।’
