नेकपा र माओवादी केन्द्रबिच एकताको च्याप्टर क्लोज ?

असार १२ धनगढी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको छ ।

केही दिन अघि नेकपाका महासचिव विप्लवले खुमलटारमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।

समाजवादी मोर्चाको बैठक, पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा असार ७ गते प्रचण्ड निवास पुगेका थिए । भेटका क्रममा दुई शीर्ष नेताबिच पार्टी एकतामा भएको ढिलाइ, माओवादीबिच भएको अन्तरविरोध लगायत विषयमा छलफल भएको नेकपाका प्रवक्ता विश्वकर्माले बताए ।

‘माओवादीसँगको एकता सैद्धान्तिक रूपमा सम्भव छ । नीतिगत र व्यावहारिक रूपमा समाप्त भइसकेको छ । माओवादीकै कारण एकता टर्‍यो । हामीले त केन्द्रीय समिति बैठकबाट एकता गर्ने निर्णय गरेका थियौँ’, उनले भने, ‘माओवादीभित्रको अन्तरविरोध र प्रचण्डको अनिच्छाका कारण सम्भव भएन ।’

अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने विश्वकर्माको भनाइ छ । यद्यपि पार्टी एकता नहुने निर्णयमा आफूहरू नपुग्ने तर नेकपा नयाँ फोर्स भएकाले आफ्नै ढङ्गले अगाडि बढ्ने उनले बताए ।

दुई पार्टीका शीर्ष नेताहरूको छलफलको आधारमा २०८१ साल वैशाख १८ गते सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड र विप्लवबिच भएको छलफलको विषयलाई प्रस्ट पार्दै विश्वकर्माले भने, ‘महासचिव विप्लवले अब पार्टी एकताको सम्भावना नरहेकाले मोर्चा बनाएर नै अगाडि बढौँ भनेर कुरा राख्नुभयो । माओवादीभित्रको अन्तरविरोधबारे पनि चासो व्यक्त गर्नुभयो । जबाफमा प्रचण्डले हतारमा एकता गरेर पछुताउनुभन्दा मोर्चाबन्दी गरेरै अगाडि बढौँ, तपाईंको कुरा सकारात्मक छ भन्नुभयो । पार्टीभित्रको अन्तरविरोधका कुरा पनि गर्नुभयो । धेरै गम्भीर छलफल भएको छ ।’

२०७९ सालको निर्वाचनकै सेरोफेरो माओवादी र नेकपाबिच एकताको गृहकार्य चलेको थियो । नेकपासँग एकताका लागि माओवादी केन्द्रका उपाध्यक्ष तथा वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले विशेष पहल गरेका थिए । महराकै पहलमा माओवादीसँग एकता गर्न विप्लव सकारात्मक देखिएका थिए । एकताकै विषयमा थुप्रै चरणमा प्रचण्ड र विप्लवबिच छलफल चल्यो । दुवै नेताले आ–आफ्ना पार्टी बैठकमा समेत यसबारे छलफल चलाएका थिए ।

दुई पार्टीका शीर्ष नेताहरूको छलफलको आधारमा २०८१ साल वैशाख १८ गते सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । सो निर्णय भएको नौ महिनासम्म पनि एकताका लागि माओवादीबाट कुनै चासो नदिएपछि विप्लवले प्रचण्डको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए ।

गत वर्ष पुस २ गते सम्पन्न केन्द्रीय समिति बैठकमा विप्लवले सबै वापमन्थी एकता, सहकार्य र ध्रुवीकरणका लागि इमानदारितापूर्वक माओवादीसँग एकताको पहल गरेको तर एकताका लागि प्रचण्ड नै तयार नभएकाले ढिलाइ भएको राजनीतिक दस्ताबेजमा उल्लेख गरेका थिए । आफ्नो सदाशयतालाई कमजोरीका रूपमा बुझेकाले अब एकताको लागि पार्टीले पहल नगर्ने जानकारी उनले बैठकमा गराएका थिए ।

माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको वैचारिक, सैद्धान्तिक अन्तरविरोध, गुटगत स्वार्थका कारणसमेत एकताको बाधक भएको नेकपाको निष्कर्ष छ ।

महासचिव तथा वार्ता टोली सदस्य देव गुरुङले आवश्यकता अनुसार पार्टी एकता र ध्रुवीकरणका लागि पार्टीले पहल गरिरहेको जिकिर गरे ।
यता माओवादीका नेताहरूले नेकपाका नेताहरूको आरोपलाई खण्डित हुने गरी वामपन्थी दलहरूसँग एकता, सहकार्य र ध्रुवीकरणको प्रयास जारी रहेको जिकिर गरेका छन् । प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने वामपन्थी तथा समाजवादी दलहरूसँग एकताको पहल भइरहेको बताए ।

पार्टीको महाधिवेशन, पार्टी एकता तथा एकता प्रक्रियामा जोडिएका नेताहरूको उचित जिम्मेवारी दिने लगायत विषयमा आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्ने सापकोटाले जानकारी दिए ।

‘वामपन्थी दलहरूसँग एकता, सहकार्य र ध्रुवीकरणको विषयमा पार्टीले छलफल गरिराखेको छ । अघिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार जनताको पूर्व–पश्चिम राजमार्ग केन्द्रित अभियानमा व्यस्त छौँ । वर्षाका कारण अभियान पनि स्थगित भएको छ । अब बस्ने केन्द्रीय समिति बैठकले यी सबै विषयमा ठोस निर्णय गर्छ’, उनले भने ।

महासचिव तथा वार्ता टोली सदस्य देव गुरुङले आवश्यकता अनुसार पार्टी एकता र ध्रुवीकरणका लागि पार्टीले पहल गरिरहेको जिकिर गरे ।

‘विचार, सिद्धान्त मिल्ने विभिन्न वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणको पहल भइराखेको छ । विचार र सिद्धान्त नमिलेसम्म एकता गर्नुको कुनै अर्थ छैन । आवश्यकता अनुसार एकता पनि हुन्छ । सहकार्य पनि हुन्छ । रणनीति र कार्यनीति अनुसार पार्टीले निर्णय गर्छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले नेकपासहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पहल भइरहेको सार्वजनिक रूपमा दाबी गर्दै आएका छन् । जेठ १२ गते नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूहसँगको एकता समारोहमा उनले पार्टी एकताको विषयमा विप्लव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँग पनि छलफल भइरहेको दाबी गरेका थिए । जेठ २७ गते आफ्नै निवास खुमलटारमा भएको पार्टी प्रवेश कार्यक्रममा पनि प्रचण्डले यो कुरा दोहोर्‍याएका थिए ।

‘विप्लवले नेतृत्व गरेको नेकपा, माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ । महिन्द्र यादव नेतृत्वको नेसपा छिट्टै एकतामा आउँदैछ । छिटै केन्द्रीय समिति बैठक बस्दैछ । नयाँ योजनाका साथ एकतामा आएका नेताहरूलाई पार्टीभित्र विभिन्न ठाउँको जिम्मेवारी दिइने छ’, प्रचण्डले भनेका थिए ।

२०८१ मंसिर २८ गते बसेको माओवादीको स्थायी समिति बैठकले विगतमा एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत थियो, सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको निर्णय गरेको थियो ।

आगामी महिनामा माओवादी र नेकपा दुवैको केन्द्रीय समिति बैठक राख्ने तयारी छ । नेकपाको यसअघिको केन्द्रीय समिति बैठकले विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो । माओवादीले महाधिवेशनको तयारी थाल्ने निर्णय गरेको थियो । दुवै पार्टीको आगामी केन्द्रीय समिति बैठकले वामपन्थीबिच एकता हुने वा नहुने विषयमा ठोस निष्कर्ष निकाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply