बढ्दै डेंगुको जोखिम, वेलैमा सावधानी अपनाउनुको विकल्प छैन

असार १३ धनगढी
मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमणको जोखिम पुनः बढ्न थालेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन् ।

विगतका वर्षहरूभन्दा यस वर्ष डेंगु सङ्क्रमण बढेको देखिएको छ । मनसुनको सुरुमै बिरामीहरू बढ्न थालेसँगै भदौ असोजसम्म ह्वातै बढ्न सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् ।

साथै वेलैमा सजकता नअपनाए यसले महामारीको रूप पनि लिन सक्ने उनीहरूले चेतावनी दिएका छन् ।

यसअघि नेपालमा सन् २०१० मा रूपन्देही, नवलपरासीलगायत तराईका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो । यस्तै, २०१९ मा धरानमा डेंगु व्यापक फैलिएको थियो ।

पछिल्लामा वर्षहरूमा काठमाडौँ उपत्यकालगायत जिल्लामा पनि डेंगुका बिरामीहरू ह्वात्तै बढ्न थालेका छन् ।

देशभरका ७३ जिल्ला डेंगु पुगिसक्यो । यसले गम्भीर असर पार्न सक्ने भएकाले पूर्वतयारी नै सबैभन्दा उचित विकल्प भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यस वर्ष बागमती, गण्डकी र कोशी प्रदेशमा डेंगु सङ्क्रमण बढी पुष्टि भएको छ ।

ईडीसीडीका गएको पुसयता बागमतीमा ३८६ वटा डेंगुको केस पुष्टि भइसकेको छ । त्यस्तै गण्डकीमा ३२२, कोशीमा ३१४, लुम्बिनीमा २६३, सुदूरपश्चिम २२६, कर्णालीमा ३४ र मधेसमा २५ वटा केस पुष्टि भएको छ । बर्खा लागेसँगै क्रमशः डेंगुका केस बढ्दै जान थालेका हुन् ।

‘वार्निङ साइन’ देखिए सजक हौँ

पछिल्लो समय डेंगुको केस बढे पनि सामान्य रूपमा लिने गरिएकाले पछुताउनुपर्ने स्थिति आउन सक्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । अहिल्यैबाट सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

डेंगु सङ्क्रमण पुष्टि भई सामान्य रूपमा लिँदा स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले आराम गरी चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न उनको सुझाव छ । उनका अनुसार डेंगुको ‘वार्निङ साइन’ देखिँदा वेलैमा सचेत हुनुपर्छ । डेंगु हुँदा केहीलाई तारन्तार बान्ता हुने, नाक अथवा गिजाबाट रगत आउने, पेट दुख्ने र बढी आलस्य हुने देखिने भएकाले यस्तो वेला आराम गर्न उनको सुझाव छ । डेंगुका यी चार ‘वार्निङ साइन’ बारे अब बहस गर्न आवश्यक भइसकेको उनले सुनाए ।

उनी सुझाउँछन्, ‘डेंगु पुष्टि भएपछि बिरामीको पेट वा छातीमा पानी जम्ने, कलेजोको आकार बढ्ने र रगतमा प्लेटलेट्को सङ्ख्या तीव्र गतिमा घट्ने देखिन्छ, यसलाई जटिल मान्नुपर्छ ।’

‘सेरोटाइप’

ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाका अनुसार नेपालमा हालसम्म डेंगुका ४ वटा ‘सेरोटाइप’ पुष्टि भएका छन् । उनका अनुसार संक्रमितहरूमा ‘सेरोटाइप’ का १, २, ३ प्रकार बढी देखिएका छन् । त्यस्तै सबैभन्दा बढी प्रकार ‘३’ देखिएको छ ।

बर्खा लागेसँगै कीटजन्य रोग बढ्न नदिनका लागि सबै जना सचेत हुन आवश्यक रहेको निर्देशक झा सुझाउँछन् । डेंगुको केस बढ्न नदिन स्थानीय तहहरूसँग समन्वय गरिएको डा.झाले जानकारी दिए ।

यसरी अपनाऔँ सजकता

ईडीसीडीका निर्देशक झाले कीटजन्य रोग रोकथामका लागि यस आर्थिक वर्षमा केन्द्रबाट ८ करोड रुपैयाँ स्थानीय तहका लागि विनियोजन गरिएको बताए । डेंगु सङ्क्रमण बढ्न नदिका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको बताए ।

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार मनसुनसँगै भित्रिने यस्ता रोग फैलिन नदिन हरेक जिल्ला, पालिका र त्यसभन्दा तल्लो तहमा सङ्क्रमण रोगसम्बन्धी ‘र्‍यापिड रेस्पोन्स’ टिमहरू तयारी अवस्थामा राखिएका छन् ।

डेंगुका केस बढ्न नदिन सरकारको एक्लो प्रयासले मात्रै नभएर जनप्रतिनिधि र जनताको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

डा. झाका अनुसार पानी पर्ने एकदुई दिन रोकिने भइरहेको छ । जसले खाडल अनि छत तथा घरबाहिर राखिएका भाँडाहरूमा पानी जम्ने हुँदा त्यहाँ लामखुट्टेका लार्भा बढ्न सक्छन् । त्यसरी पानी जम्नेको स्थानमा एडिज, एडिस एजिप्टी, एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फुल पार्छन् । सो फुल लार्भा बन्छ र सोही लार्भा वयस्क भई भएपछि टोक्ने गर्छ ।

यसैले डेंगु बनाउने लामखुट्टेको दर बढ्न सक्ने भएकाले घर वा वरिपरि सफा राख्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply