आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

काठमाडौँ, वैशाख १ गते । काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट, बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट, लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन हुनेछन् ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।

थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो। यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जानकारी दिएको छ ।

“बेलुका ८ः०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ”, महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।” उहाँले यसअघि रातिको समयमा किशोरी र महिलाले दुव्र्यवहार भोग्नाका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको उहाँको भनाइ छ । सेवा प्रारम्भ गर्दा साँझदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply