खेमराज भट्ट, असोज २०
काठमाडौं- राजधानीको सतुङ्गलस्थित चौधरी समूह (सीजी) अन्तर्गतको सिजी डिजिटल पार्कमा भदौ २४ गते भएको जेन–जी आन्दोलनकै क्रममा योजनाबद्ध तोडफोड र आगजनीपछि पूर्णरूपमा ध्वस्त भएको छ। यस घटनाले केवल चौधरी समूहलाई मात्र होइन, सम्पूर्ण निजी क्षेत्र, उद्योग–व्यवसाय, लगानी वातावरण र राज्यको सुरक्षा संयन्त्रलाई समेत हल्लाइदिएको छ।
आगलागीको भयावह दृश्य भदौ २४ गते दिउँसो करिब २ बजेतिर सुरु भएको प्रदर्शन साँझतिर आक्रामक रूप लिँदा नियन्त्रण बाहिर पुगेको थियो। आन्दोलनकारीको भीडले पार्क परिसरमा रहेका गाडी, सर्भर, कम्प्युटर, फर्निचर, शो–रुमका सामग्री र भवनका भागहरूमा आगो लगाइदिए।
कसैले ढुंगा हाने, कसैले पेट्रोल छ्यापे। केहीले उपकरण लुटे भने केहीले भवनभित्रको मूल्यवान् सामान निकालेर सडकमा फ्याँके।
केही समयमै सिजी डिजिटल पार्कको अत्याधुनिक भवन कालो धुँवाले ढाकियो, र केही घण्टामै करिब तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति खरानीमा परिणत भयो।
पार्कमा जडान गरिएको १ लाख लिटर क्षमताको अग्नि–नियन्त्रण प्रणाली (फायर–सिस्टम) समेत सञ्चालनमा आउन सकेन। फायर–सिस्टम नचल्नुले प्राविधिक मात्र होइन, व्यवस्थापन तहमा पनि गम्भीर कमजोरी देखाएको पार्कका प्रमुखको भनाइ छ।
हामीले पसिना बगाएर बनाएको सम्पत्ति किन जलाइयो? राज्यले कर तिराउँछ, तर लगानी सुरक्षित राख्न असफल भयो, भन्नुभयो, सतुङ्गलस्थित सिजी डिजिटल पार्कका प्रमुखले।
सीजी डिजिटल पार्कको क्षति मात्रै करिब ३ अर्ब रुपैयाँको अनुमान गरिएको छ। चौधरी समूह अन्तर्गतका अन्य शाखा, गोदाम, शो–रुम र कार्यालयमा भएको क्षति समेत जोड्दा कुल नोक्सानी ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्रमुखले जानकारी दिनुभयो। थापाथली, नक्साल, हरिसिद्धि, रवी भवन, विशालनगर, जोरपाटी, चितवन र सानेपास्थित शाखाहरूमा पनि आक्रमण हुँदा ठूलो क्षति भएको बताइन्छ।
रोजगारी संकट र कर्मचारीको त्रास-सिजी डिजिटल पार्कमा कार्यरत हजारौं कर्मचारीको भविष्य अहिले अन्धकारमा परेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ —भवन जलेर खरानी भए पनि कर्मचारीलाई तलब–सुविधा दिइरहेका छौँ। कोही पनि रोजगारी गुमाउने छैन।
तर स्थलमा पुगेका पत्रकारले भेटेका कर्मचारीहरूको अनुहारमा डर र चिन्ता स्पष्ट देखिन्थ्यो। एक कर्मचारी भन्छन्,घरमा साना बच्चा छन्, स्कुलको शुल्क तिर्न बाँकी छ। कम्पनीले तलब दिने भने पनि मन शान्त छैन, फेरि यस्तो भयो भने के गर्ने?
सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न- राजधानीमै यस्तो ठूलो आगजनी हुँदा पनि सुरक्षा निकायहरू समयमै सक्रिय हुन नसक्नुले राज्यको तयारीप्रति गम्भीर प्रश्न उठाएको छ। प्रमुखले प्रश्न गर्दै भन्नुभयो – नेपालमा सिआइबी छ, राष्ट्रिय अनुसन्धान छ, प्रहरी प्रशासन छ — तर किन जिम्मेवारी पूरा हुन सकेन? किन फायर–सिस्टम प्रयोग हुन सकेन? महत्त्वपूर्ण संरचना सुरक्षित गर्ने तयारी किन कमजोर रह्यो?
लगानी वातावरण संकटमा- उद्योगी–व्यवसायी महासंघ, चेम्बर अफ कमर्स, र व्यापारिक संघ–संस्थाहरूले एकै स्वरमा सरकारसँग तत्काल सुरक्षा संयन्त्र सुदृढ गर्न माग गरेका छन्।
उनीहरूका अनुसार,उद्योग र पूँजी जलाउने घटनाले नेपाललाई असुरक्षित बजारका रूपमा प्रस्तुत गरेको छ। नयाँ लगानीकर्ताले अब नेपाललाई विश्वसनीय गन्तव्यका रूपमा हेर्ने सम्भावना कम हुनेछ।
विशेषज्ञहरूको मतमा, यस्तो वातावरणमा नयाँ लगानी रोकिएला, रोजगारी सिर्जनाको गति अवरुद्ध हुनेछ, र राजस्व सङ्कलनमा नकारात्मक असर पर्नेछ। यसले दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्रलाई झन् संकटमा पुर्याउन सक्छ।
विनाशको बीचमा पनि समुदायले मानवीयता प्रदर्शन गरेको छ। स्थानीय व्यापारी, संघसंस्था र सर्वसाधारणले प्रभावित परिवार र कर्मचारीका लागि खाना, पानी, अस्थायी आवास र मानसिक सहयोग पुर्याउन थालेका छन्।
एक सामाजिक कार्यकर्ताले भने,यो क्षणमा प्राथमिकता भोक, आवास र मानसिक राहत दिनु हो। उद्योग जलेको छ, तर मानवीय सहानुभूति बाँकी छ। चौधरी समूहको प्रतिक्रिया चौधरी समूहले आधिकारिक विज्ञप्ति जारी गर्दै भनिएको छ —यो केवल हाम्रो कम्पनीको घाटा होइन, राष्ट्रकै लगानी वातावरणमाथिको आक्रमण हो। हामी पुनर्निर्माण गर्छौं, तर राज्यले जिम्मेवारी लिई लगानी सुरक्षित गर्नुपर्छ।
पुनर्निर्माण र भविष्यका चुनौती- सीजी समूहले पुनर्निर्माणको घोषणा गरे पनि चुनौती अपार छ।
बीमा दाबी प्रक्रिया लामो र जटिल छ ।लगानीकर्ताको विश्वास फिर्ता ल्याउन समय लाग्नेछ। कर्मचारी संरक्षण र मनोबल पुनःस्थापना गर्न कठिन हुनेछ। समुदायको भरोसा फिर्ता ल्याउन निरन्तर प्रयास गर्नुपर्नेछ।
सुरक्षा प्रोटोकल पुनरावलोकन गर्न, आपतकालीन व्यवस्थापन बलियो बनाउन र सार्वजनिक–निजी समन्वय मजबुत गर्न जरुरी छ। आन्दोलनका माग सुन्नुपर्छ तर हिंसात्मक बाटो अस्वीकार्य छ।
जेन–जी आन्दोलनले उठाएका विषयहरूमा जनचासो बढिरहेको छ, तर निजी सम्पत्ति, विद्यालय र उद्योगमाथि लक्षित हिंसात्मक गतिविधिले आन्दोलनको नैतिकता कमजोर बनाएको टिप्पणी पनि बढ्दो छ। एक स्थानीय नागरिकले भने,माग सुन्नुपर्छ, तर उद्योग जलाएर न्याय आउँदैन। कतिपय लुट्न आएका थिए, कतिपय भीडको भाग बने।
धुवाँले ढाकेको भरोसा- सतुङ्गलको कालो धुँवा केवल भवनमाथि मात्र होइन —नागरिकको आशा, उद्योगीको लगानी र भविष्यप्रतिको भरोसामाथि परेको दाग हो। यो घटनाले सबैलाई चेतावनी दिएको छ —विकास सुरक्षित गर्न राज्य जिम्मेवार बन्नैपर्छ।
हिंसा समाधान होइन- आन्दोलन सुन्नु लोकतान्त्रिक संस्कार हो, तर रोजगारी र लगानी जलाउनु अपराध हो। सीजी डिजिटल पार्कमाथिको विनाशले देशको अर्थतन्त्र, विश्वास र भविष्यप्रतिको आशामाथि गहिरो चोट पुर्याएको छ। रैकवार खबर डट कम— खेमराज भट्ट, काठमाडौं।