बैतडी – सुदूरपश्चिममा अझै जरा गाडेर बसेको जातीय विभेद र धार्मिक कुरीतिविरुद्ध बैतडीका एक ज्योतिषाचार्यले २७ वर्षदेखि निरन्तर सामाजिक अभियान चलाइरहेका छन्। बैतडीको पाटन नगरपालिका-८, खोड्पे जसुलीखाली निवासी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले दलित बस्तीमै पुगेर वैदिक विधिबाट पूजा, संस्कार र धार्मिक कर्मकाण्ड गर्दै सामाजिक रूपान्तरणको सशक्त सन्देश दिएका हुन्।
श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका राजज्योतिषी पण्डित पन्तले दलित समुदायमा सप्ताह, शिवपुराण, लघुरुद्राभिषेक, महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, सत्यनारायण पूजा, ग्रहशान्ति, शतचण्डी, अखण्ड रामायणलगायत चार सयभन्दा बढी धार्मिक कर्मकाण्ड सम्पन्न गरिसकेका छन्।
उनका अनुसार हालसम्म ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, ६७५ सत्यनारायण पूजा, ५८३ ग्रहशान्ति, २९ शतचण्डी र ५५ अखण्ड रामायण सम्पन्न भएका छन्।
सामाजिक समावेशिताको सन्देश फैलाउने क्रममा उनले आचार्य कृष्ण दमाईँसहित १ हजार ३ सय ७५ जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको बताए। त्यस्तै २९९ दलित महिलालाई दुधागो दोरक धारण गराइएको जानकारी उनले दिएका छन्। आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासबाट प्रवचनसमेत दिएका थिए।
पण्डित पन्तले धर्मग्रन्थले महिला र दलितमाथि कुनै विभेद नगरेको स्पष्ट पार्दै समाजमा कायम छाउपडी प्रथा, जातीय छुवाछूत र धार्मिक बहिष्कार हटाउन धार्मिक अगुवाहरू नै अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन्।
उनले भने, “आज पनि धेरै ठाउँमा ब्राह्मणहरू दलित बस्तीमा गएर न्वारन, विवाह र व्रतबन्ध गर्दैनन्। चिहान घाटसम्म विभेद हुने अवस्था छ। यस्ता कुरीति अन्त्य गर्न म आफैँ अभियानमा लागेको हुँ। दलितको घरमा पूजा गर्दै भोजन ग्रहणसमेत गरिरहेको छु।”
दलित समुदायभित्रै पनि आपसी विभेद रहेको उल्लेख गर्दै उनले यस्तो गलत संस्कार हटाउन आवश्यक रहेको बताए। “एक दलित समुदायले अर्को दलित समुदायसँग पानी-भान्सा नचलाउने अवस्था मैले देखेको छु, यो गलत हो,” उनले भने।
अथर्ववेदलाई गलत रूपमा “दलितको वेद” भन्दै अपमान गर्ने परम्पराप्रति समेत उनले आपत्ति जनाएका छन्। विज्ञान र प्रविधिको आधार अथर्ववेदकै ज्ञान भएको उल्लेख गर्दै उनले मोबाइल, रेडियो, टेलिभिजन, गाडी र हवाईजहाज निर्माणमा शिल्पी समुदायको योगदानलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
सामाजिक रूपान्तरणको अभियान चलाउँदा उनले ठूलो व्यक्तिगत क्षतिसमेत व्यहोरेका छन्। दलित बस्तीमा कर्मकाण्ड गर्न थालेपछि बुवा-बाजेका पालादेखिका गैरदलित समुदायका ५ सय ७५ यजमान छुटेको उनले बताए। सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौज सहनुपरे पनि आफू धर्म र कर्मबाट विचलित नभएको उनको भनाइ छ।
“विभेद गर्नेहरूलाई कानुनी कारबाही हुनुपर्छ। समाज सुधारका लागि धर्मलाई मानवतासँग जोड्न जरुरी छ,” उनले भने।
पण्डित पन्तले प्रत्येक हिन्दूको घरमा वेद, पुराण, तुलसी, शालिग्राम, शंख-घण्ट र पाञ्चायन देवताको स्थापना गराउने लक्ष्य लिएको बताए। “धर्मशास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्, अन्य जात हुँदैनन्,” भन्दै उनले विभेदकारी सोच र ग्रन्थहरू संशोधन हुनुपर्ने धारणा व्यक्त गरे।
सबै धार्मिक क्षेत्र सबै समुदायका लागि समान र समावेशी हुनुपर्ने उनको माग छ।
प्राचीन दैवज्ञ, त्रिकालदर्शी, संस्कारशिरोमणि, शास्त्रार्थकेसरी, याज्ञीकसम्राट, अग्निहोत्री, ज्योतिषाचार्य तथा शुक्लयजुर्वेदाचार्य पण्डित गणेशप्रसाद पन्त धार्मिक तथा सामाजिक कार्यका लागि सक्रिय रूपमा जुटिरहेका छन्।
धार्मिक कार्य तथा सम्पर्कका लागि उनले ९८६०२७८१०० नम्बर उपलब्ध गराएका छन्।
