कात्तिक २५
कैलालीमा यस वर्ष ३ लाख ८ हजार ४ सय ३४ मेट्रिकटन धान उत्पादन भएको छ ।
जिल्लामा यस वर्ष ६८ हजार ५ सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकोमा उक्त परिमाणको धान उत्पादन भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्षेत्रफल नघटे पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १७ हजार १ सय ३५ मेट्रिकटन घटेक कृषि ज्ञान केन्द्रका सहायक कृषि प्रसार अधिकृत मदनराज जैसीले जानकारी दिए ।
जिल्लामा गत वर्ष ३ लाख २५ हजार ५ सय ६९ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको थियो ।
यस वर्ष धानको उत्पादकत्व पनि घटेको जनाइएको छ । गत वर्ष ४.७५ मेट्रिकटन प्रतिहेक्टर रहेको धानको उत्पादकत्व घटेर यस वर्ष ४.५ मेट्रिकटन प्रतिहेक्टर भएको जनाइएको छ ।
उनले भने ‘यस वर्ष क्षेत्रफल घटेको थिएन । उत्पादन घट्यो । धानले गाज हाल्ने समयमा पानी परेन । पछि धानको फूल्ने समयमा पानी पर्यो । त्यसले असर गर्यो । त्यसैले उत्पादन घटेको हो ।’
