मंसिर ८
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १८ हजार २ सय १३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म सञ्चालन भएको नयाँ मतदाता नामावली दर्ता अभियानमा राष्ट्रिय परिचयपत्रमार्फत र निर्वाचन कार्यालयमा पुगेर उक्त संख्याका नगारिकले नाम दर्ता गराएका हुन् ।
जिल्लामा १२ हजार ११३ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र ६ हजार १ सय जनाले कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
कार्यालय पुगेरभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको संख्या बढी रहेको कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएपछि मतदातालाई नाम दर्तामा सहज भएको थियो ।
मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएकाहरुको प्रमाणिकरण हुने क्रम जारी बताउँदै कार्यालय प्रमुख भट्टले नयाँ थपिने मतदाताको सङ्ख्या प्रमाणिकरणपछि मात्रै थाहा हुने बताए ।
मतदाता नामावलीमा नाम दर्ता गराउनेको उत्साहजनक सहभागिता रहेको थियो । कार्यालयमा आएर नाम दर्ता गराउनेको समेत भीड लाग्ने गरेको थियो ।
२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा कैलालीमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ ।
