मंसिर १६
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति तीव्र रूपमा बढ्दै गएको छ। भीमदत्त–१४ वनकट्टीका नन्दलाल विष्टको घरमा हात्ती पसेर श्रीमती धनाको मृत्यु भएको ताजा घटनासँगै जिल्लामा हात्तीजन्य जोखिम फेरि बढेको छ। असोजमा पनि बेलौरी–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यको हात्ती आक्रमणबाट ज्यान गएको थियो।
डिभिजन वन कार्यालय र शुक्लाफाँटा निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो सात वर्षमा १२ जनाले हात्ती र २ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्। यस अवधिमा ८ जना सख्त घाइते र १८ जना सामान्य घाइते भएका छन्। सबैभन्दा धेरै मृत्यु शुक्लाफाँटा र बेलौरी क्षेत्रका बासिन्दामा देखिएको छ।
निकुञ्जका अनुसार करिब ५० हात्तीमध्ये ‘मकुना’ (दाह्रा नभएको भाले) र ‘लेदे’ (छोटो पुच्छर भएको भाले) गरी दुई हात्ती मान्छेमाथि बढी आक्रमण गरिरहेका छन्। झुन्डबाट निकालिएका यस्ता हात्तीहरू पुरानो मार्ग बिर्सेर बस्तीमै पस्ने र जनधनको क्षति गर्ने प्रवृत्ति देखिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।
निकुञ्ज, मध्यवर्ती क्षेत्र र मोहना–लालझाडी कोरिडोर नजिकका बस्तीहरू अहिले सबैभन्दा जोखिममा रहेको भन्दै अधिकारीहरूले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका उपाय सुदृढ गर्न आवश्यक रहेको बताएका छन्।
