खेमराज भट्ट, पुस ११
काठमाडौ — विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १३३औँ जन्मदिवसको अवसरमा नेपालमा विभिन्न क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूले माओका वैचारिक, राजनीतिक तथा दार्शनिक योगदानको स्मरण गरेका छन्। डिसेम्बर २६ अर्थात् पुष ११ का दिन मनाइएको उक्त अवसरमा माओवादलाई आजको नेपाली समाजको विशिष्टतामा सिर्जनात्मक रूपमा लागू गर्नुपर्नेमा जोड दिइयो।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट कलाको आयोजनामा सम्पन्न कार्यक्रममा माओले माक्र्सवाद–लेनिनवादलाई चिनीया समाजको यथार्थसँग जोडेर विकास गरेको र त्यसले साम्राज्यवाद तथा सामन्तवादविरुद्धको संघर्षलाई निर्णायक उचाइमा पुर्याएको चर्चा गरियो। माओद्वारा सम्पन्न नयाँ जनवादी क्रान्तिले चीनमा वैज्ञानिक समाजवादको आधार निर्माण गरेको वक्ताहरूले बताए।

कार्यक्रममा माओका दार्शनिक योगदान—‘व्यवहारबारे’, ‘अन्तर्विरोधबारे’, ‘जनताबीचको अन्तर्विरोधको सही सञ्चालन’ लगायतका कृतिहरू—ले मार्क्सवादी दर्शनलाई व्यवहारसँग जोडेर गुणात्मक विकास गरेको उल्लेख गरियो। ‘एकको दुईमा विभाजन हुन्छ’ भन्ने माओको द्वन्द्वात्मक मान्यताले संशोधनवादविरुद्ध सशक्त सैद्धान्तिक संघर्षको आधार दिएको भनाइ राखियो।
त्यस्तै, अर्ध–सामन्ती तथा अर्ध/नव–औपनिवेशिक समाजमा नोकरशाही पुँजीवाद सर्वहारा क्रान्तिको शत्रु हुने माओको राजनीतिक अर्थशास्त्रीय विश्लेषण आज पनि उत्पीडित देशहरूका लागि मार्गदर्शक रहेको वक्ताहरूको भनाइ थियो। नयाँ जनवादी क्रान्ति, जनकम्युन प्रणाली, सहकारी अर्थतन्त्र र ‘क्रान्तिलाई पक्र, उत्पादन बढाऊ’ भन्ने समाजवादी सिद्धान्त माओका महत्वपूर्ण योगदानका रूपमा चर्चा गरियो।

कार्यक्रममा दीर्घकालीन जनयुद्ध, पार्टी–सेना–मोर्चा जस्ता तीन जादुगरी हतियार र जनताको जनवादी अधिनायकत्वसम्बन्धी माओका वैज्ञानिक समाजवादी अवधारणाहरूले आजको क्रान्तिकारी आन्दोलनलाई दिशानिर्देश गर्ने वक्ताहरूले बताए।
१३३औँ माओ दिवस समारोह कार्यक्रम क. कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क. केदार खतिवडाले मञ्च संरक्षण, क. हेमन्त प्रकाश ओलीले उद्घोषण र क. रामसिंह श्रीसले स्वागत मन्तव्य दिएका थिए। एक मिनेट मौनधारणमार्फत माओप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
वक्ताहरूमा अम्बिका मुडवरी (शारदा महत), चिन्तामणी पौडेल, सीताराम तामाङ, हरिभक्त कँडेल र चन्द्र प्रकाश गजुरेलले माओवादको समसामयिक महत्वबारे आ–आफ्ना धारणा राखेका थिए।

