माघ ७
लामो समयदेखि सेयर बजारलाई धेरै पक्षबाट सकारात्मक प्रभाव पर्ने अवस्था देखिए पनि बजारले अपेक्षित वृद्धि लिन सकेको थिएन।
तर केही दिनयता बजार लगातार बढ्दो प्रवृत्तिमा देखिन थालेको छ। मंगलबार समेत बजार लगातार बढेको छ। यी चार कारोबार दिनमा नेप्सेले ७९.८ अंक जोडेको छ।
पछिल्ला दुई दिनमा मात्रै नेप्सेले ७३.३८ अंक जोड्यो।
सोमबार कारोबार रकम पनि साढे पाँच महिनायताकै उच्च भयो। यसअघि गत साउन १८ मा १३ अर्ब ७ करोड रूपैयाँको कारोबार भएको थियो।
सोमबार ११ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भयो।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मंगलबार दलहरूले उम्मेदवारी दिएसँगै सेयर बजारले सुधारको बाटो समातेको हो।
के अहिले बजार राजनीतिक कारणले नै बढेको हो त?
पहिले सेयर बजारमा राजनीतिक घटना क्रमको प्रभाव किन पर्छ भन्ने बुझौं।
अर्थतन्त्रमा पर्न सक्ने प्रभाव, शान्ति सुव्यवस्था, नीतिगत परिर्वतनको संकेत लगायत कारण राजनीतिक घटना क्रमले सेयर बजारमा प्रभाव पार्छ।
नेपाली सेयर बजार परिसूचक नेप्सेले नै पटक पटक राजनीतिक घटना क्रमको प्रभाव देखाएको छ।
केही घटना यस्ता छन्ः
घटना १
२०६४ चैत २८ मा पहिलो संविधानसभाको चुनावमा माओवादी पहिलो ठूलो दल बन्दा बजार केही समय घटेको थियो। सडक र सत्ता कब्जा गर्ने माओवादी सोच प्रति लगानीकर्ताहरू सशंकित थिए। यही कारण २०६५ वैशाख ३ मा बजार खुल्नेबित्तिकै २६ अंकले घटेको थियो।
तर २०६५ भदौ १५ मा नेप्सेले सो समयकै उच्च विन्दु ११७५ भेटेको थियो। त्यो २०५२ सालबाट सशस्त्र युद्ध गरेका माओवादी राजनीतिक दलको रूपमा व्यवस्थापन हुनु, सबै दलबीच सहमति भएर गणतन्त्र घोषणा हुनु लगायतको परिणाम थियो।
त्यसको केही समयमै तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भनेर संज्ञा दिए। यसप्रति सेयर बजारले नकारात्मक प्रतिक्रिया जनायो। फलतः त्यसयता घट्न थालेको बजार २५२ विन्दुसम्म आइपुग्यो।
हुन त सो समय बजार न्यूनतम विन्दुमा आउनुमा बुलिस प्रवृत्ति अन्त्य हुनु लगायत अन्य कारणले समेत सहयोग पुगेको थियो।
त्यसैले बजार प्रति राजनीतिक दलहरूको सोच कस्तो छ भन्ने कुराले पनि नेप्सेमा प्रभाव देखिन्छ।
पछिल्लो समय सबैजसो दलले सेयर बजार प्रति आफ्नो धारणा सकारात्मक रहेको अभिव्यक्ति दिन थाले। गत वर्ष मात्रै केही दलले त बजार बढेर एउटा निश्चित विन्दु पुगेमा ‘केक नै काट्ने’ चर्चा समेत चलाइएको थियो।
घटना २
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव लगेका थिए। पुस ६ गते सेयर बजार परिसूचक एकै दिन ९६ अंकले घटेर १९३५ मा आएको थियो।
घटना ३
२०८१ असार १८ पनि जब नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि बजार ४ प्रतिशतसम्म बढेर सर्किट ब्रेक नै लगाउनुपरेको थियो। बजार बन्द हुँदा भने वृद्धि २ प्रतिशतमा सीमित भयो र नेप्से २१०० विन्दुमा पुग्यो।
बजारमा राजनीतिको प्रभाव लामो समयसम्म भने रहँदैन। तर अहिले बजार बढ्नुमा भने राजनीतिक कारण नै देखिएको सेयर ब्रोकर नरेन्द्र सिजापतीले बताए।
‘अहिले बजारलाई केही कुराले प्रभाव पारेको छ भने त्यो राजनीतिक माहोल नै हो। निर्वाचनका लागि मनोनयन दर्ता हुन थालेसँगै बजारले वृद्धिको बाटो समात्ने देखिएको छ,’ उनले भने।
अहिले बजारलाई अन्य पक्षबाट पनि सकारात्मक सहयोग पुगिरहेको छ।
धेरै लामो समयदेखि निक्षेप र कर्जाको ब्याजदर न्यून विन्दुमा छ। अर्थतन्त्रमा केही वर्षयता देखिएको शिथिलता, राजनीतिक अनिश्चितता, भदौ २३ र २४ गतेको प्रर्दशनपछि व्यवसायीहरूको घटेको आत्मबल लगायत कारण न्यून ब्याजदरको लाभ बजारले लिन सकिरहेको छैन।
मुलुक निर्वाचनमय बन्दै जाँदा भने मुलुकमा स्थिरता आउन सक्ने भएकाले पनि लगानीकर्ताहरू आशावादी देखिएका हुन्। आगामी निर्वाचित सरकार कस्तो बन्छ, कस्तो नीति लिन्छ त्यसको प्रभाव भने त्यतिखेरै देखिनेछ।
त्यस्तै, अघिल्ला वर्षमा खराब कर्जाको भारले थलिएका बैंक तथा वित्तीय संस्थाको यस्तो कर्जामा सामान्य भए पनि सुधार देखिँदै जानु, थप नबढ्नुले बजारलाई नकारात्मक प्रभावबाट बचाएको छ।
राष्ट्र बैंकले केही समयअघि मात्रै सेयर धितो कर्जाको व्यक्तिगत र संस्थागत सीमा हटाएको छ। यसले लगानीकर्ताको कर्जा क्षमता बढाएको छ।
हालै बैंकहरूलाई खराब कर्जा नियमित भएको तीन महिनापछि नै असलमा वर्गीकरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ। यसले बैंकहरूलाई राहत पुग्ने भएको छ।
अहिले यसरी कर्जा नियमित हुँदा पनि ६ महिनासम्म सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्थ्यो। अब असारमा राख्दा मात्रै एक प्रतिशत नोक्सानी व्यवस्थामा रकम राखे पुग्छ।
अहिले कम्पनीहरूले लाभांश दिइसकेकाले लगानीकर्ताहरूले लाभ उठाउने भनेको बजारमा हुने मूल्य परिवर्तनबाटै हो।
