चार अमर महान् सहिदहरूको ८६ औँ स्मृति दिवसमा भव्य श्रद्धाञ्जलि कार्यक्रम आयोजना

खेमराज भट्ट, माघ १६
काठमाडौं — राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो जीवन आहुति दिएका चार अमर महान् सहिदहरूको ८६ औँ स्मृति दिवसको अवसरमा विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ। ८६ औँ सहिद दिवसको पावन अवसरमा शुक्रराज सास्त्री धर्मभक्त माथेमा, दशरथचन्द चन्द ठकुरी र गंगालाल श्रेष्ठसहित ज्ञात तथा अज्ञात सम्पूर्ण सहिदहरूप्रति सम्मान र स्मरण व्यक्त गर्ने उद्देश्यले उक्त कार्यक्रम हुन लागेको हो।

योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्, बानेश्वरको आयोजनामा मिति २०८२ साल माघ १६ गते, बिहान ११:३० बजे, सहिद गेट, टुँडिखेल, काठमाडौंमा श्रद्धाञ्जलि समर्पण समारोह आयोजना गरिने आयोजकले जनाएको छ। राष्ट्र निर्माणमा सहिदहरूको अतुलनीय योगदानलाई स्मरण गर्दै भावी पुस्तालाई त्याग, साहस र देशप्रेमको सन्देश दिन कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा चार अमर सहिदसँगै टंकप्रसाद आचार्य, रामहरि शर्मा नेपाल, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उप्रेती, चुडाप्रसाद शर्मा, बलबहादुर पाण्डे, चन्द्रमान सैंजु, गणेशमान श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, फत्तेबहादुर, चिनियालाल, पूर्णनारायण प्रधानलगायत ज्ञात तथा अज्ञात सहिदहरूप्रति सामूहिक रूपमा श्रद्धाञ्जलि अर्पण गरिनेछ।

वि.सं. १९९७ साल माघ महिनामा निरङ्कुश राणा शासनविरुद्ध संघर्ष गर्दै सहादत प्राप्त गरेका चार अमर सहिदहरूको स्मृतिमा आयोजना हुने यस कार्यक्रमले लोकतान्त्रिक आन्दोलनको इतिहासलाई पुनः स्मरण गराउने विश्वास गरिएको छ। कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, बौद्धिक तथा आध्यात्मिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।

आयोजक संस्थाले सहिदहरूको बलिदानलाई केवल स्मरणमा सीमित नराखी व्यवहारमा उतार्न सबै नागरिकलाई प्रेरित गर्ने उद्देश्य रहेको जनाएको छ। कार्यक्रमले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायप्रति प्रतिबद्धता अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply