हेमा भट्ट, माघ २७
धनगढी, कैलाली – सुशासन, रोजगारी र समाजवादको तयारीलाई मूल एजेण्डा बनाउँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम बहादुर आले मगर ले कैलाली क्षेत्र नं. ५ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। “राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” भन्ने स्पष्ट सन्देशसहित आले मगर मतदाताको घर–आँगनमा पुगेर आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।
घरदैलो कार्यक्रममा आले मगरले धनगढीलाई खेलकुद, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन सोच प्रस्तुत गरेका छन्। लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी शहरलाई क्रिकेट हवका रूपमा विकास गर्ने योजना उनले प्रमुख प्राथमिकतामा राखेका छन्। यसले युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी गेटास्थित धनगढी विमानस्थलको धावनमार्ग विस्तार गरी २५०० मिटर पुर्याउने, ठूला जहाज अवतरण योग्य बनाउँदै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई पहुँचमा जोड्ने प्रतिबद्धता पनि आले मगरले दोहोर्याएका छन्।

स्वास्थ्य क्षेत्रमा शहिद वशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ३००–६०० शैयाको अस्पताल सञ्चालन, MBBS लगायतका अध्ययन अध्यापन सुरु गर्ने तथा सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत विशिष्टिकृत सेवासहित सञ्चालन गर्ने योजना अघि सारिएको छ। सिकलसेल रोगीका लागि छुट्टै वार्ड स्थापना गर्ने प्रतिबद्धताले स्थानीयको ध्यान तानेको छ।
पूर्वाधार विकास अन्तर्गत धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्ज्याङ्गसम्म भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक समयमै सम्पन्न गरिने, नदी तटबन्धनमार्फत धनगढी क्षेत्रको डुवान समस्या समाधान गरिने तथा विभिन्न नदीमा पक्की पुल निर्माण गरिने योजना प्रस्तुत गरिएको छ।
युवालाई लक्षित गरी प्रदेश स्तरीय सिप तालिम केन्द्र स्थापना, प्राविधिक शिक्षा र रोजगारमुखी तालिममार्फत स्वरोजगारमा जोड्ने, लागूऔषध दुर्व्यसनमा फसेका बालबालिकाको पुनर्स्थापना र रोजगारसँग जोड्ने कार्यक्रम पनि घोषणामा समेटिएको छ।
महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको समान अधिकार, अवसर र सम्मान सुनिश्चित गर्ने, भूमिहीन, सुकुम्बासी र मुक्तकमैयालाई लालपुर्जा तथा सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धताले घरदैलोमा सकारात्मक प्रतिक्रिया पाएको छ।
कृषि, उद्योग, शिक्षा र पर्यटनलाई समान प्राथमिकतामा राख्दै वनस्पति उद्यान र जाखोर तालको पर्यटकीय विकास, स्थानीय भाषा–संस्कृतिको संरक्षण, साना तथा मध्यम उद्योग प्रवर्द्धन र सामाजिक सेवाका संस्थालाई राज्यको सहयोग सुनिश्चित गर्ने योजना पनि आले मगरले मतदातामाझ राखेका छन्।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास, रोजगारी र सुशासनको स्पष्ट खाकासहित प्रस्तुत उम्मेदवारप्रति आशा र भरोसा व्यक्त गरेका छन्।
“साझा विकास सबको साथ, नयाँ सोच नयाँ अठोट” भन्ने नारासहित
तारा चिन्हमा भोट गर्न प्रेम बहादुर आले मगरले मतदातासमक्ष अपिल गरेका छन्।
