हेमा भट्ट, जेठ १५
बैतडी – दशरथचन्द नगरपालिका वडा नं. ५ को कार्यालयको आयोजनामा महिला तथा एकल महिलाहरूका लागि लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडा अन्तर्गतको १२ टोलमा भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। स्थानीय महिला, एकल महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमको सभाध्यक्षता नन्दा भट्टले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष केशव राज लेखक, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न टोलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाका प्रकार, हिंसा न्यूनीकरणका उपाय, कानुनी व्यवस्था, महिला अधिकार, एकल महिलाका हकहित तथा सामाजिक सशक्तीकरणका विषयमा जानकारी प्रदान गरिएको थियो। सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफ्नो अधिकारबारे सचेत हुन तथा समाजमा हुने विभेद र हिंसाविरुद्ध आवाज उठाउन थप हौसला मिलेको बताएका छन्।
वडा अध्यक्ष केशव राज लेखकले टोलस्तरीय विकास, जनसहभागिता र सामाजिक एकताको महत्वमाथि प्रकाश पार्दै महिला सशक्तीकरण बिना समृद्ध समाज निर्माण सम्भव नरहेको बताउनुभयो। उहाँले स्थानीय सरकार र नागरिकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि उपप्रमुख कौशिला चन्दले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले महिला, युवा तथा समुदायको सक्रिय सहभागिताले मात्रै समतामूलक र सभ्य समाज निर्माण गर्न सकिने धारणा राख्दै नगरपालिकाले महिला सशक्तीकरण तथा सामाजिक न्यायका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा विद्यमान विभेद, हिंसा र कुरीतिविरुद्ध सामूहिक रूपमा लड्न प्रेरणा मिल्ने बताएका छन्। कार्यक्रमले स्थानीय स्तरमा सामाजिक एकता, समन्वय, महिला अधिकारप्रतिको जागरण तथा विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको विश्वास गरिएको छ।
आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै टोल तथा समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
