विश्वकप : इटालीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल, शेर मल्ल आउट हुँदा ललितलाई अवसर

२९ माघ
काठमाडौँ, माघ २८ गते । आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । इटालीले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल अहिले मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु भएको छ ।

इङ्ल्यान्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भई रहेको छ । इटाली टी–२० मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा इटाली तुलनात्माक रूपमा कमजोर मानिन्छ । हाल इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्डले एक एक खेल जित्दै दुई दुई अङ्क बनाएका छन् । नेपाल र इटाली अङ्कबिहीन छन् ।

पहिलो पटक विश्वकप खेलिरहेको इटाली अनुभवका हिसाबले पनि पछाडि छ ।

नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा प्रतिस्पर्धा भएको थियो । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले इटालीसँगको खेल नेपालका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ । ‘‘पहिलो खेलबाट दबाबलाई थेग्न र कठिन अवस्थामा कसरी खेल्नुपर्छ भन्ने सिकेका छौँ । सुपर आठमा पुग्न अबका खेलहरु महत्त्वपूर्ण छन् । सबै खेलमा राम्रो खेल्ने छौँ । इटालीलाई हराएर अगाडि बढ्ने अबको लक्ष्य हो,’’ रोहितले भन्नुभएको छ ।

इटालीपछि नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममै खेल्ने छ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply