अछाम, मंगलसेन — जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत लैङ्गिक हिंसा रोकथाम तथा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै यस्तो पहल गरिएको हो।
प्रशासनले मिति २०८३ बैशाख ८ गतेभित्र जिल्लाभर सञ्चालनमा रहेका सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा CCTV/Dashcam जडान गर्न निर्देशन दिएको छ। यसले सवारीभित्र हुने गतिविधिमा निगरानी बढाई सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
त्यसैगरी, यात्रुहरूलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउन भाडादर स्पष्ट रूपमा टाँस गर्ने व्यवस्था, चालक तथा सहचालकलाई अनिवार्य पोशाक र परिचयपत्र लगाउने नियम, र सवारी साधनमा GPS Tracking प्रणाली जडान गर्ने व्यवस्था लागू गरिने भएको छ।
प्रशासकीय अधिकृत दीपेन्द्र सिंह बिष्टद्वारा जारी गरिएको उक्त निर्देशनले सुदूरपश्चिमका अन्य जिल्लासमेत समन्वय गरी कार्यान्वयनमा जोड दिने उल्लेख गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अछामलाई प्रभावकारी कार्यान्वयनका लागि सहकार्य गर्न आग्रह गरिएको छ।
“व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नारासहित अघि बढाइएको यो अभियानले अछाममा सार्वजनिक यातायात सेवा थप सुरक्षित, विश्वसनीय र यात्रुमैत्री बन्ने अपेक्षा गरिएको छ।

